आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहिणी
महोत्तरी। नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन्। महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समूह बनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन्।
नगरमा नै पहिलो पटक वडा नं. १ बाट बुहारी बचत तथा ऋण समूहका गृहणीहरुले तालिम लिएका छन्।
विहान-बेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरुले उत्पादन गरेको धुपले आत्मनिर्भर बनाउन सकिने ऋण समूह की संचालक शान्ता काफ्लेले बताइन्।
‘नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरीका गृहणीहरुले उत्पादन गरेको धुप नै बजारमा काफी हुन्छ,’ उन्ले भनिन्। ‘यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरुको गतिलो,आम्दानीको स्रोत बन्न सक्छ।’
धुपको तालिम लिएपछि समूहका महिलाहरु उत्साहित देखिएका छन्। ऋण समूह की अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निक्कै फलदायी रहेको प्रतिक्रिया दिइन्।
उनले घरायसी काममा व्यस्त हुने महिलाहरुको विहान-बेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने बताउँदै आयातित सिन्के धुपलाई विस्थापन गरेर महिलाहरुले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति बनाउन नगरसँग आग्रह गरेकी छन्।
सिन्के धुपको तुलनामा बाटेको धुप बास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाइदा पुग्ने बताउँदै नगरले गृहणीहरुलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी समूहले जोड दिएका छन्।
यता नगरले पनि महिलाहरुको भावनालाई आत्मासाथ गर्दै महिला उद्यमी बनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना बनाएको छ। पहिलो चरणमा वडा नं. १ बाट सुरु गरेको बताउँदै नगरले प्रत्येक वडाका महिलाहरुलाई सिपसँग जोडने योजना बनाएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment