भेरी करिडोरको सतह चाँडै छिचोलिने

डिसी नेपाल
१९ चैत २०८० ११:१६

सुर्खेत। भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ।

करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याकमाथि नै यातायातका साधन सञ्चालन भइरहेका छन्।

भेरी करिडोर आफैँले सतह काट्न लागेको करिडोरका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । दुनैदेखि ल्यासिक्यापसम्मको सडकमा निर्माण व्यवसायीले काम सुरु गरेका छन् । बीचमै काम छाडेर अधुरै रहेको यो सडक खण्डमा पुनः काम प्रारुरम्भ भएको हो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल तथा सुरक्षा निकायको टोलीले उक्त सडक खण्डको अनुगमन गरेर काममा तीव्रता दिन निर्देशन दिएको छ । बीचैमा काम छाडेमा ठेक्का तोडिने आयोजना प्रमुख रञ्जितकारले बताए ।

तल्लुस्थित भेरी नदीको बेलिब्रिज पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त पुल निर्माण हप्ता दिनभित्रै पूरा हुने आयोजनाले जनाएको छ । सो क्षेत्रमा अन्य पाँच पुलको काम भने बाँकी नै छ । भेरी करिडोरको ६२ किलोमिटरमा कालोपत्र गर्न हाललाई बजेट अभाव भएको आयोजना प्रमुख रञ्जितकारले बताए ।

“चालु आर्थिक वर्ष २०८०-८१ मा ५० करोडको बजेटमार्फत काम भइरहेको छ”, उनले भने । ठेक्का लिने तर बीचमै काम छाड्ने गरेका कारण करिडोरको काम समयमै सम्पन्न हुन नसकेको हो ।

सडक जतिसक्दो चाँडो निर्माण हुनेछ, त्यति नै छिटो जाजरकोट र डोल्पामा निर्माणाधीन विकास निर्माणका कामले गती पाउने छन् । यसबाट जगदुल्ला जलविद्युत् आयोजना, नलगाड जलविद्युत् आयोजना, ताक्सुगाड जलविद्युत् आयोजनालगायतको काममा सहज हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *