२७ लाख पाकिस्तानीहरूको व्यक्तिगत डाटा चोरी

डिसी नेपाल
१९ चैत २०८० १३:२२

काठमाडौं । पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरीको खुलासा गरेको हो ।

नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ। रिपोर्टका अनुसार यो डाटा पहिले दुबईमा पठाइएको थियो। त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो। यस विषयमा सरकार मौन छ ।

यस विषयमा गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै ‘जियो न्यूज’ले समाचार प्रकाशित गरेको छ । यो घटना बाहिर आएपछि मन्त्रालयले संयुक्त अनुसन्धान टोली गठन गरेको थियो । यसमा संघीय अनुसन्धान एजेन्सी (एफआईए) र गृह मन्त्रालयका अधिकारीहरू सामेल थिए। यो टोलीको नेतृत्व सैयद वकारुद्दिनले गरेका थिए ।

रिपोर्टका अनुसार डाटा चोरीको यो खेल २०१९ मा सुरु भयो र २०२३ को अन्त्यसम्म जारी रह्यो। यस अवधिमा करिब २७ लाख पाकिस्तानी नागरिकको डाटा चोरी भएको थियो । नाद्रा अधिकारीहरूको सहयोग बिना यो काम सम्भव थिएन। प्रतिवेदनमा नाद्राले आफ्नो केही काम आउटसोर्स गरेको हुनाले अन्य कुनै कम्पनीले यो डाटा बेचेको हुनसक्ने आशंका पनि उठाइएको छ ।

टोलीले यस विषयमा विस्तृत प्रतिवेदन तयार पारेको छ । धेरै जसो गोप्य राखिएको छ। प्राधिकरणले आगामी दिनमा केही अधिकारीलाई सोधपुछका लागि बोलाउन सक्ने बताइएको छ । अनुसन्धान एजेन्सीको रिपोर्ट अनुसार जसको व्यक्तिगत डाटा चोरी भएको छ, तीमध्ये अधिकांश मुल्तान, कराँची र पेशावरका छन्।

स्रोतका अनुसार यो कुरा पहिलो पटक मार्च २०२३ मा रिपोर्ट गरिएको थियो। त्यसपछि गृह मन्त्रालयले यस विषयमा छानबिन थालेको हो । पछि केही तथ्य बाहिर आएपछि यसका लागि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो । जियो न्यूजका अनुसार जसको डाटा लीक भएको छ त्यसमा सेना र आईएसआईका अफिसर पनि परेका छन् । त्यसैले यो विषय निकै संवेदनशील बन्दै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *