नेतान्याहु सरकार विरुद्ध इजरायलमा किन हजारौं मानिस सडकमा उत्रिए ?

डिसी नेपाल
२० चैत २०८० १३:०९

काठमाडौं । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो ।

तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध फेरि एकपटक ठूलो प्रदर्शन भइरहेको छ । इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।

जेरुसेलममा हजारौं प्रदर्शनकारीहरूले आइतवार राति शहरको सबैभन्दा ठूलो उत्तर-दक्षिण राजमार्ग अवरुद्ध गरे। यस क्रममा सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहोराबाट दुर्गन्धित पानी छोडेको थियो।

प्रदर्शनकारीहरूले नेतान्याहुलाई तत्काल राजीनामा दिनुपर्ने र चुनाव गराउन माग गरेका छन्। साथै, धेरैले गाजामा बन्धक बनाएका १३० इजरायलीको रिहाइको लागि जतिसक्दो चाँडो सम्झौता गरिनुपर्ने माग गरेका छन्।

बन्धकहरूको परिवारका सदस्यहरू र साथीहरू यदि युद्ध सम्झौता बिना नै लम्बियो भने धेरै बन्धकहरू मारिनेछन् भन्ने कुराले त्रसित छन् ।

सन् २०२३ मा इजरायलमा प्रदर्शनहरू भएका थिए जसले सरकारलाई हल्लायो। यसपटक पनि आन्दोलन गर्ने समूहले देशको संसदबाहिर भेला हुन जनतालाई अपिल गरेका छन् ।

गाजामा भएको युद्धलाई लिएर नेतान्याहु सरकारको व्यापक आलोचना भइरहेको छ। गाजामा जारी युद्धमा हालसम्म ६०० इजरायली सैनिक मारिएका छन् ।

अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणमा १२०० इजरायली मारिएका थिए भने २५० जनालाई बन्धक बनाएका थिए ।

त्यसयता इजरायली आक्रमणमा ३२ हजार मानिस मारिएका छन् भने ७५ हजार घाइते भएका छन् । यो आँकडा हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *