गोकर्णेश्वरवासीको माग खानेपानी आपूर्ति होस्

डिसी नेपाल
२० चैत २०८० १८:५३

काठमाडौं। हिउँदयामको चर्को घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ।

मुलुकको राजधानी काठमाडौं उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ । काठमाडौँ उपत्यकामा चक्रपथभित्र मेलम्ची खानेपानीको आपूर्ति केही हदसम्म सहज भए पनि मेलम्ची र सुन्दरीजलको खानेपानीको पाइप बिछयाइएका गोकर्णेश्वर क्षेत्रमा भने अहिले पानीको चर्को अभाव देखिएको छ।

यसैबीच, खानेपानीमन्त्री रामकुमार राईलाई त्यस क्षेत्रबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय नगरपालिकाका प्रमुख एवं उपप्रमुख, उपभोक्ताहित संरक्षणसँग जोडिएका प्रतिनिधिले भेटेर समस्या यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन्। काठमाडौं महानगरपालिकावासीलाई खानेपानीका लागि भएको असजिलो अन्त्य गर्न पाइप बिच्छाउने सिलसिलामा परेको अप्ठेरोको विगतमा गाँठो फुकालेको घटना स्मरण गराउँदै उनीहरुले सबैले खानेपानी सहजै खान पाउनुपर्ने माग गरे।

प्रतिनिधिसभा अर्थसमितिका सभापति सन्तोष चालिसेले काठमाडौंवासी तिर्खाएका बेला पाइप बिच्छाउन जग्गा उपलब्ध गराउनेहरु अहिले मर्कामा परेकाले सरकारले त्यस पाटोलाई बुझ्न आवश्यक रहेको बताए।

सांसद शान्ति श्रेष्ठले काठमाडौं उपत्यकामा पानी वितरणका लागि ठूलो ट्याङ्की निर्माण गरिएका क्षेत्र वरपरका जनता खानेपानी नपाएर काकाकुल बन्नुपर्ने अवस्था कहिलेसम्म अन्त्य हुन्छ भनी प्रश्न गरे। पूर्वसांसद रामेश्वर फुँयाल र कृष्णबहादुर राईले गोकर्णेश्वरका जनताले खानेपानी नपाउनु भनेको खानेपानीको पाइप बिच्छाइएको ठाउँमा तिर्खा हुने र विद्युत्को तार टाँगिएको ठाँउमा अँधेरोजस्तै भएको प्रतिक्रिया दिए।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले विकास निर्माणसँग सम्बन्धित निकायबीच पूर्वाधार निर्माणमा समन्वय र सहयोग नहुँदा विनियोजित बजेट खाल्टो खन्न तथा पुर्नमा मात्रै सीमित हुन पुगेको विचार प्रकट गरे।

गोकर्णेश्वर–१ देखि ५ सम्म सुन्दरीजलको र ६ देखि ९ सम्म मेलम्चीको खानेपानी वितरणको व्यवस्थाका लागि उपभोक्ता र जनप्रतिनिधिले खानेपानीमन्त्री राईसँग अनुरोध गरे। सो अवसरमा मन्त्री राईले जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न हरसम्भव प्रयत्न हुने विश्वास दिलाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *