भारत र पाकिस्तानमा चलिरहेको अनलाइन ठगी नेपाल प्रवेश

डिसी नेपाल
२१ चैत २०८० १०:२१

काठमाडौं। भारत र पाकिस्तानमा चलिरहेको अनलाइन ठगी नेपालको सीमा क्षेत्रमा प्रवेश गरेको छ। अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले वीरगन्जबाट पक्राउ गर्न सफल भएपछि यसको रहस्य खुलेको हो।

चिनियाँ नागरिकहरुले पर्यटक भिषामा आइ पाकिस्तान र भारतमासमेत ठगी धन्दा चलाउने गरेको खुलेको छ। ‘यस्तो ठगी भारत र पाकिस्तानमा चल्थ्यो, अहिले नेपालको सीमा क्षेत्रबाटै भारत र पाकिस्तानमा समेत ठगी धन्दा चलिरहेको खुलेको छ’, पर्सा प्रहरीका एक अधिकारीले भने।

वीरगञ्ज महानगरको विभिन्न ठाउँमा सर्च अप्रेसन चलाएर गत साता प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरुलाई पक्राउ गरेको थियो।

पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार चीनको हुनान सहरका ३३ वर्षीय लिउ गुइ कै, हुबेईका २६ वर्षीय वाङ बोहन र सोही ठाउँका ३६ वर्षका छियाङ छियावलाई पक्राउ गरिएको हो।

वीरगञ्ज महानगरको वडा नम्बर १५ स्थित नन्दु पटेलको घरमा छापा मारेर नजिकैको सडकबाट २ जना र वृन्दावन होटलबाट एक जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाएका छन्। प्रहरीको विशेष टोलीले केही साता अगाडि वीरगन्ज बजारमा चिनियाँ नागरिकको गतिविधिबारे सूचना संकलन गरेको थियो।

वीरगञ्जमा चिनियाँ नागरिकको आवतजावत बढेपछि प्रहरीले निगरानी बढाएको थियो। शंकास्पद गतिविधि भइरहेको सूचनापछि एसपी ढुंगेलले ‘अप्रेसन क्लाउड’ अभियान नै सञ्चालन गरेका थिए।

प्रहरीको यही अप्रेसनले चिनियाँ नागरिकलाई निगरानी गर्ने र ठगीमा संलग्न सबैलाई ‘नोटिस’ मा राखेर पक्राउ गरी अनुसन्धान गर्ने नीति अनुरुप अहिले उनीहरुलाई हिरासतमा लिएर अन्र्तराष्ट्रिय स्तरमा अनलाइनमार्फत हुने ठगीको अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका चिनियाँहरूले प्रहरीलाई बोर्डरबाट भारतमा ठगी धन्दा चलाउन सहजता भएकाले आफूहरूले वीरगञ्जलाई आधार क्षेत्र बनाएर काम गरेको बयान दिएको पर्सा प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका चिनियाँले भारतीय सीम प्रयोग गरेर अनलाइन ठगी धन्दा चलाइरहेको थिए। विशेषगरी भारतलाई आफ्नो ठगी धन्दाको लक्ष्य बनाएर उनीहरूले काम गर्दै आएको र त्यसका लागि केही भारतीयलाई आफ्नो कर्मचारी राखेको समेत खुलेको छ।

वीरगञ्ज भारतको सीमासँग जोडिएको सहर हो। त्यसैले भारत लक्षित ठगी धन्दाका लागि उनीहरूले वीरगञ्जलाई रोजेको प्रहरीको भनाइ छ। करिब २ महिना अगाडि घर भाडामा लिएर उनीहरुले अनलाइनमार्फत ठगी गर्न शुरु गरेका थिए। खासगरी भारत, पाकिस्तान र नेपालमा ठगी गर्न केन्द्रित रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा विद्युतीय उपकरण, डेक्सटप कम्प्युटर, ल्यापटप, मोबाइल फोन, सीमकार्डहरू तथा विभिन्न देशका मुद्रासमेत बरामद गरेको छ।

पक्राउ परेकाहरूको साथबाट कम्प्युटर डेक्सटप सीपीयू १ सय २० थान, मनिटर ११८ थान, पासपोर्ट ३ थान, मोबाईल ३५ थान, भारतीय सीमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान बरामद भएको छ।

यसैगरी विभिन्न बैंकका एटीएम कार्ड ३ थान, किबोर्ड २३ थान, इन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनी इन्भर्टर २ थान बरामद भएको छ। यसैगरी भारतीय नम्बर बीआर ०१ सीएक्स ५७९२ नम्बरको आई २० गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *