रेमिट्यान्स बढ्दा शोधानान्तर र चालु खाता अधिक बचतमा

डिसी नेपाल
२४ चैत २०८० ८:११

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् ।

नेपाल राष्ट्र बैंकले विहिवार सार्वजनिक गरेको फागुन महिनासम्मको आर्थिक तथा वित्तिय स्थितिको प्रतिवेदनअनुसार समग्रमा मुलुकको आर्थिक स्थिति बलियो देखिएको छ ।

फागुन महिनामा मात्र रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुग्दा चालु खाता सँगै शोधनान्तर बचत पनि उल्लेख्य बढेको छ ।

आर्थिक वर्षको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मुलुकबाट बाहिरिने भित्रिने रकम बढी भएपछि शोधानान्तर बचत हुने गर्दछ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको फागुनसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर बचत ३ खर्ब २७ अर्ब ५५ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४२ अर्बले बचतमा रहेको शोधनान्तर बचत चालु आवको सुरुवातदेखि नै उल्लेख्य रुपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा महँगी घटेको छ । केन्द्रीय बैंकले फागुनमा समग्र मुल्यवृद्धि अर्थात उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही महिनामा ७.४४ प्रतिशत मुल्य वृद्धि भएको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको केन्द्रीय बैंकको भनाइ रहेको छ ।

यद्यपि फागुन महिनामा मरमसलाको भने २८.१७ प्रतिशत मुल्यवृद्धि भएको छ । तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।

फागुन महिनामा आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेको छ ।

यसैंगरी रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

संख्या २ लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ र १ लाख ९२ हजार सय ५५९ रहेको थियो ।

केन्द्रीय बैंकले फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति रु.१८ खर्ब ७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको जनाएको छ । यतिको सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

फागुन महिनासम्ममा नेपाल सरकारको खर्च रु.८ खर्ब १ अर्ब ५८ करोड र राजस्व परिचालन रु.६ खर्ब ३९ अर्ब ५ करोड रहेको छ ।

फागुनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा कुल आन्तरिक कर्जा ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।

मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा यस्तो दावी २१.१ प्रतिशतले बढेको छ ।

मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.७ प्रतिशतले बढेको छ ।

फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४ खबै ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सो ही अवधिमा यस्तो निक्षेप रु.२ खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको छ ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, २५.७ प्रतिशत र ५९.८ प्रतिशत रहेको थियो ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत रहेको छ । २०७९ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत रहेको थियो ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *