विद्युत् उत्पादन र व्यापारमा निजी क्षेत्रको छलाङ

डिसी नेपाल
२५ चैत २०८० ७:११

काठमाडौं । पछिल्लो समय नेपालमा जलविद्युत्को क्षेत्रमा एकदमै तीव्र गतिमा विकास भइरहेको छ । मुलुकका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै धमाधन नयाँ जलविद्युत् आयोजना निर्माण हुने र सञ्चालनमा आउने क्रम बढिरहेको छ ।

जब देशको जलविद्युत्लगायतका ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भयो । त्यसपछि नेपालमा धमाधम नयाँ जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा आउने क्रमले तीव्रता पाएको हो । हाल मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले हाल यस क्षेत्रमा राम्रो लगानी गरेका छन् ।

१९६८ सालमा नेपालमा पहिलो जलविद्युत् आयोजना (चन्द्रज्योति) बनेको हो । सो आयोजना विश्वको पहिलो जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको मात्र २९ वर्षपछि नेपालमा बनाइएको थियो ।

नेपालमा जलविद्युत् आयोजना निर्माण हुँदा एसियाका कुनै पनि देशमा जलविद्युत् आयोजना बनेका थिएनन् । तर, बेलायत सरकारको सहयोगमा पहिलो जलविद्युत् आयोजना बनेको लामो समयसम्म नेपाल आफंैले जलविद्युत् आयोजना विकास गर्न सकेन । त्यसपछि छिमेकी देश भारतलगायतका विदेशी मित्रराष्ट्रको सहयोगमा निर्माण भएका त्रिशूली, गण्डक, कुलेखानी, कालीगण्डकीलगायतका जलविद्युत् आयोजना हुन् ।

नेपाल विद्युत् प्राधिकरणले केही ससाना जलविद्युत् आयोजना निर्माण गरे पनि नेपालको जलस्रोत उच्चतम उपयोग हुनेगरी नेपालमा जलविद्युत् विकास हुन नसकेको निजी क्षेत्रको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जब निजी क्षेत्रको लगानी हुन थालेपछि मात्र नेपालको जलविद्युत् क्षेत्रले फड्को मारेको दाबी गरेका छन । इप्पानका अध्यक्ष कार्कीका अनुसार निजी क्षेत्रले व्यापारिक रूपमा उत्पादन सुरु गर्दा २०५७ सालमा पहिलो आयोजना बनेको करिब ९० वर्षसम्म सरकारी निकायको उत्पादन २ सय ७६ मेगावाटमा सीमित थियो ।

ऊर्जा विकासको यात्रामा निजी क्षेत्रको प्रवेश ७ मेगावाटको इन्द्रावती तेस्रो आयोजनाबाट सुरु भएर अहिले २ हजार ३ सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ । सरकारी तवरबाट भने हालसम्म ६ सय ६१ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा लगानी सुरु गरेको साढे दुई दशकमै नेपालले ऊर्जा उत्पादनको क्षेत्रमा राम्रो फड्को मार्न सफल भयो । नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रले अभूतपूर्व रूपमा सफलता हासिल गरेको छ ।

एक दशक अघिसम्म वर्षा र हिउँद दुवैमा विद्युत् आयात गर्नुपर्ने अवस्थामा रहेको नेपालमा अहिले हिउँदमा मात्र आयात गर्नुपर्छ । वर्षायाममा भने नेपालले साढे ६ सय मेगावाटसम्म विद्युत् निर्यात गरिररहेको छ ।

ऊर्जा मन्त्रालयले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको महŒवाकांक्षी लक्ष्य अघि सारेको छ । अझै सरकारले लिएको लक्ष्यअनुसार पूर्वतयारीको काम नहुने हो भने सो लक्ष्य आगामी ५० वर्षमा पनि भेट्टाउन सकिन्न । तर, सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्दै जलविद्युत् पूर्वाधार निर्माणसँग सम्बन्धित केही कानुनहरू संशोधन गरेर सहज वातावरण बनाइदिने हो भने आगामी ५ वर्षभित्रमा थप १० हजार मेगावाट र अर्को ५ वर्षमा अर्को १५ हजार मेगावाट विद्युत् निजी क्षेत्रले मात्रै उत्पादन गर्न सक्ने दाबी कार्कीको छ ।

निजी क्षेत्रले जलविद्युत्मा खन्याएको ठूलो लगानी र अथक मेहनतकै कारण अहिले काठमाडांै उपत्यकालगायत विभिन्न सहरका नेपाली उपभोक्ताले दैनिक २४ सै घण्टा विद्युत् उपयोग गरिरहेका छन् । यसमा निजी क्षेत्रले जलविद्युत्मा गरेको लगानी एकदमै महŒवपूर्ण भएको छ ।

साउन भदौको मध्येवर्षामा समेत दैनिक १८ घण्टासम्मको चरम लोडसेडिङको एक दशक लामो २०६३ देखि २०७३ सालसम्मको कष्टपूर्ण अनुभव खेपेको नेपाली नागरिकले अहिले निर्वाध रूपमा दैनिक २४सै घण्टा विद्युत् उपयोग गरिरहेका छन् ।

यहाँका उपभोक्ताले उपयोग गरेर पनि खपत नभएको विद्युत् छिमेकी देश भारतलगायत अन्य तेस्रो मुलुकसम्म निर्यात गर्ने अवस्थामा नेपाल पुगिसकेको छ । मुलुकमा पर्याप्त विद्युत् उत्पादन भएकै कारण हाल २४सै घण्टा विद्युत् उपयोग गर्ने बानी परिसकेका नेपाली उपभोक्ता कुनै ठाउँमा प्राविधिक गडबढी भएर केही समय विद्युत् आपूर्ति रोकियो भने पनि झनक्क रिसाउने अवस्थामा आइपुगेका छन् ।

काठमाडौं उपत्यकामा २०७३ सालको कात्तिक र मुलुकभर २०७५ सालको वैशाखदेखि लोडसेडिङ अन्त्य भएको घोषणासँगै क्रमशः सात वर्ष र पाँच वर्ष पूरा भइसकेको छ । यस अवधिमा जलविद्युत् उत्पादनमा मात्र होइन, छिमेकी देश भारतसँग आवश्यकतामा आधारित भएर बिजुली आदानप्रदान (पैंचो) मा सीमित रहेको नेपालको विद्युत् बजार अहिले भारतीय बजारमा निर्वाध रूपमा खुला खरिद–बिक्रीको अवस्थामा नेपाल आइपुगेको छ ।

नेपालको जलविद्युत् उत्पादनको इतिहासलाई पल्टाएर हेर्दा फर्पिङ जलविद्युत् केन्द्रको निर्माण पछि सबैभन्दा पहिला भारतीय अनुदानमा निर्माण भएको त्रिशूली १ र त्रिशूली–देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् निर्यात गरेको नेपाललाई अहिलेसम्म ८ जलविद्युत् आयोजनाबाट उत्पादिन ४०९ मेगावाट विद्युत् भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति दिइसकेको अवस्था छ ।

इप्पानका अध्यक्ष कार्कीले दिएको जानकारीअनुसार विद्युत् ऐन–२०४९ जारी भएपछि जलविद्युत्लगायतका ऊर्जा उत्पादनमा प्रवेश गरेको निजी क्षेत्रको नेपालमा उत्पादित कुल ऊर्जामा दुई तिहाइ उपस्थिति पुगिसकेको छ । सरकारी क्षेत्रले भने जलविद्युत्मा हात हालेको १ सय १३ वर्षमा पनि अझै अपेक्षाकृत रूपमा आफ्नो उपस्थिति थप बढाउन सकेको छैन ।

विद्युत् ऐन जारी भएपछि पनि सरकारले लामो समयसम्म निजी क्षेत्रलाई विश्वास नै गरेन । निजी क्षेत्रलाई जलविद्युत् उत्पादनका लागि अनुमतिपत्र दिने बेलामा सरकारी निकायका अधिकारीले निजी क्षेत्रले निर्माण गर्ने भनेको त्यही १÷२ मेगावाट त होला भन्थे । तर, २०५५ सालमा निजी क्षेत्रका लागि विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेपछि निजी क्षेत्रले विद्युत् उत्पादनमा व्यापक छलाङ मा¥यो । निजी क्षेत्रले निरन्तर नेपालको जलविद्युत्मा लगानी बढाउने होड नै गर्न थालेपछि अहिले नेपाललाई जलविद्युत्मा यति धेरै छलाङ मार्ने सफलता मिलेको इप्पान अध्यक्ष कार्कीको दाबी छ ।

उनका अनुसार अढाइ दशकमा झन्डै कुल जडित क्षमताको ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । अहिले निजी क्षेत्रले निर्माण गरेका कुल ९१ वटा जलविद्युत् आयोजना नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भइसकेका छन् । सेयर लगानीकर्ताबीच अहिले नेप्सेको सेयर कारोबारको सुचीकरणमा रहेका यी ९१ वटै हाइड्रोपावर कम्पनीमा राम्रो नाफा खान पाइन्छ भन्दै आकर्षित भएका छन् । अझै करिब १५ वटा हाइड्रोपावर कम्पनी आईपीओ सेयर निष्कासन गर्ने प्रक्रियामा पुगेका छन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि अब यी आईपीओ जारी गर्ने प्रक्रियामा रहेका हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।

यसैगरी, सोलारसहित १ सय ७३ आयोजनाबाट पनि विद्युत् उत्पादन सुरु भइसकेको छ । अहिले निर्माणाधीन ३ हजार ६ सय मेगावाटबराबरका आयोजनामध्ये न्युन मात्र सरकारी आयोजना छन् भने करिब ८० प्रतिशत निजी क्षेत्रकै जलविद्युत् आयोजना छन् ।

अझै सर्भेक्षण, उत्पादन र उत्पादन अनुमतिका लागि आवेदन दिएर निर्माण चरणमा पुगेका निजी क्षेत्रका आयोजनाको क्षमता २० हजार मेगावाटबराबरका छ । देशलाई उज्यालो बनाउने र स्वदेशभित्र पुँजी संकलनमार्फत आर्थिक समृद्धि हासिल गर्ने अभियानमा निजी क्षेत्र जिम्मेवार ढंगले अघि बढिरहेको इप्पानका अध्यक्ष कार्कीको भनाइ छ ।

निजी क्षेत्रले सक्दैन भन्ने त्यति बेलाको कथन अहिले परिवर्तन मात्र भएको छैन, निजी क्षेत्रबाटै ५ सय मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्न सक्षम भइसकेका छन् । ‘निजी क्षेत्रले व्यापारिक उत्पादनमार्फत जलविद्युत् उत्पादनमा छलाङ मारेपछिको उपलब्धि अहिलेको हो’ इप्पानका अध्यक्ष कार्कीले भने ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि नेपालको उर्जा उत्पादन र व्यापारको यो अवस्थामा आइपुग्नुमा निजी क्षेत्रको भूमिका राम्रो भएको बताएका छन् । हाल मुलुकले विद्युत् निर्यातमा फड्को मारेको दाबी गर्दै उनले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा विभिन्न दातृ निकाय एवं निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गर्दै आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत् क्षेत्रमा काम गरिरहेको बताएका छन् । जलविद्युत्को विकासमा नेपालले केही वर्षभित्र अपेक्षाकृत फड्को मार्ने दाबी गर्दै मन्त्री बस्नेतले नेपालको जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेकाले सरकारले विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको बताए ।

अहिले निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको संख्या १ सय ४२ पुगेको छ । निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि निकै बढेको छ ।

विद्युत् विकास विभागका अनुसार निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाको संख्या १ सय ४४ वटा छ । सर्वेक्षण अनुमति लिनका लागि आवेदन दिएका, सर्वेक्षण अनुमति लिएका, निर्माण अनुमतिका लागि आवेदन दिएका, निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि ठूलो छ ।

यसैगरी, प्रसारण लाइन निर्माणका लागि पनि सर्वेक्षण र निर्माण अनुमति लिएका आयोजनाको संख्या पनि बढेको छ । त्यस्तै, वायु र सौर्य ऊर्जा तथा सहउत्पादनका अनेकन स्रोतको समेत उत्तिकै प्रयोग, सञ्चालन तथा निर्माण छन् ।

मुलुकभरका निजी तथा सरकारी सबै जलविद्युत् क्षेत्रको नियमन गर्ने काम विद्युत् विकास विभागको हो । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले पनि नेपालको जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान एकदमै महŒवपूर्ण भएको बताए ।

विभागका अनुसार हालसम्म निर्माण अनुमतिका लागि आवेदन दिएका आयोजनाको संख्या १ सय ४ वटा छ । ती आयोजनाको विद्युत् उत्पादन क्षमता ११ हजार ६९ मेगावाट छ । यसैगरी, कुल २ सय ४९ आयोजनालाई विद्युत् उत्पादन अनुमति दिइएको छ । ती आयोजनाको क्षमता ९ हजार ६ सय १ मेगावाटबराबर छ । विभागले ८३ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । ती आयोजनाको क्षमता २ हजार ८ सय ८ मेगावाटबराबर छ । कुल २६ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति माग गर्दै आवेदन दिएका छन् । १२ वटा विभिन्न क्षमताका प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण भइरहेको छ ।

यसैगरी, विभिन्न क्षमताका २ सय २८ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति लिएका छन् । १ सय ४१ वटा आयोजना निर्माणका विभिन्न चरणमा छन् । सरकारले निजी क्षेत्रलाई जिम्मा दिएका आयोजना कानुनअनुसार २५ वर्षपछि राज्यकै स्वामित्वमा आउँछ । ती आयोजनामा अन्ततः नागरिकको नै लगानी भएको हुन्छ । ती आयोजना निर्माणको गुणस्तरदेखि प्रयोग भएका उपकरण’bout विभागले नियमित रूपमा अनुमगन गर्नुपर्छ । यस्तै, वैदेशिक लगानीका ठूला क्षमताका आयोजनासमेत निर्माणका विभिन्न चरणमा छन् ।

हाल नेपालले वार्षिक १५ अर्ब रुपैयाँबराबरको विद्युत् बिक्री गरिरहेको छ । मित्रराष्ट्रसँग बलियो कूटनीतिक सम्बन्ध बनाउँदै वार्षिक १५ खर्ब रुपैयाँसम्मको विद्युत् हामीले निर्यात गर्न सक्छौं । जसका लागि सरकारले विश्वासको वातावरण कामय राख्नुपर्छ । तर, नेपालको अस्थिर राजनीतिको प्रभाव ऊर्जा क्षेत्रमा पनि परेको छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *