गायक विजय लामाले याङ्गजीन साङ्गगे नामक फाउण्डेसन संचालनमा ल्याए

डिसी नेपाल
२८ चैत २०८० २१:२५

काठमाडौं। गायक विजय लामाले याङ्गजीन साङ्गगे नामक फाउण्डेसन खोलेका छन्। नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका कैयौँ हिट गीतका गायक लामाले स्वर्गीय दिदी र भान्जाको नाममा फाउण्डेसन संचालनमा ल्याएका हुन्। गायक लामाकी माइली दिदी याङ्गजीन लामाको क्यान्सरले निधन भएको केही समयमा उनले भान्जा साङ्गगे रिन्जिन लामालाई पनि हृदयघातबाट गुमाएसँगै दिदी र भान्जाको सपनासँग भावनात्मक हिसाबले जोडीन पुगेपछि फाउण्डेसन संचालनमा ल्याएको बताए।

गायक लामा भन्छन्, ‘भान्जा र दिदीको नाममा याङ्गजीन साङ्गगे फाउण्डेशन खोलेर म सामाजिक काममा जोडीएको हुँ। उनीहरुको आत्माको शान्तिको कामनाका लागि मैले अबका लागि समाजसेवामा धेरै काम गर्नेछु।’ दिदी याङ्गजीन आफ्ना लागि आमा नै सरह भएको बताइरहँदा गायक लामा निकै भावुक बने। ‘मलाई दिदीले ५ वर्षको उमेरमा काठमाडौँ ल्याएर आजको यो स्थानसम्म पुर्याउन खेलेको भूमिका म शब्दमा वर्णन गर्न सक्दिन,’ उनले भने। स्वर्गीय भान्जालाई सानै उमेरदेखि आफूले हुर्काएको बताउँदै उनको अल्पायूमा नै भएको स्वर्गारोहले आफूलाई विचलित बनाएको तर अब भने दिदी र भान्जाको नाममा आँफुले फाउण्डेसन मार्फत उनीहरुलाई आफ्नो मन मष्तिष्कमा सदाका लागि अजर अमर राख्ने काममा सदैव तत्पर भएर लाग्ने बताउँछन्।

गायक लामाले आफ्नी दिदी र भान्जाको स्मरणमा संचालनमा ल्याएको फाउण्डेसनले विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर भएका दिदीबहिनीहरुका लागि उपचारमा सहयोग गर्नेछ। त्यस्तै देशभरका गरिब दुखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम गर्नेछ। त्यस्तै वृद्धा आश्रम र बाल आश्रममा पनि सहयोग गर्नेछ भने फाउण्डेसनले लागू औषध तथा दुर्व्यसनीमा फसेका युवायुवतीहरुको क्षेत्रमा उनीहरुलाई सामान्य जीवनमा फर्काउनका लागि भूमिका खेल्नेछ। फाउण्डेसनले मन्दिर र भगवानका मूर्तिहरु र गुम्बा, स्तुपाहरू बनाउने तथा आर्थिक सहयोग गर्ने उनको भनाई छ।

सामाजिक सेवामा लाग्न फाउण्डेसन बनाएका गायक लामाले चार सय बढी गीतमा स्वर दिएका छन्। पछिल्लो समय एल्बमको तयारीमा समेत सक्रिय भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *