इरानले हर्मुज स्ट्रेटमा इजरायलको व्यवसायिक जहाज कब्जा गर्यो

डिसी नेपाल
२ वैशाख २०८१ ११:५८

काठमाडौं । इरानले इजरायलको एउटा व्यावसायिक जहाज कब्जा गरेको आरोप छ। शनिबार बिहान स्ट्रेट अफ हर्मुज हुँदै इरानले यो जहाज कब्जा गरेको थियो ।

एमएससीले एक विज्ञप्ति जारी गर्दै एमएससी एरिजमा युएइ र इरानबीचको समुद्री क्षेत्रमा इरानी स्पेशल फोर्सका सैनिकहरू चढेको बताएको छ।

समाचार एजेन्सी रोयटर्ससँग उपलब्ध भिडियो फुटेजमा केही सैनिकहरू हेलिकप्टरबाट जहाजमा अवतरण गरेको देख्न सकिन्छ।

यो पोर्चुगलको झण्डा भएको जहाज इजरायली अरबपति इयाल अफरको हो।

इजरायल र इरानबीच तनाव उत्कर्षमा पुगेको बेला यो मामिला आएको हो । सिरियास्थित इरानी महावाणिज्य दूतावासमा भएको आक्रमणपछि दुई देशबीच तनाव बढेको छ ।

इजरायलले शनिबार यदि इरानले स्थिति थप तनावपूर्ण बनायो भने त्यसले परिणाम भोग्नुपर्ने बताएको छ ।

ट्र्याकिङ डाटाका अनुसार, एमएससी एरिज १८ घण्टा पहिले युएइ नजिकै स्ट्रेट अफ हर्मुज तर्फ सरेको देखियो र त्यसपछि डाटा ट्र्याकिङ रोकियो।

बेलायतको सामुद्रिक व्यापार परिचालन एजेन्सीले जहाजमा केही व्यक्ति सवार भएको पुष्टि गरेको छ । तर, यस विज्ञप्तिमा इरानको कुनै उल्लेख छैन। बरु जहाजलाई ‘स्थानीय प्रशासन’ले कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ ।

तर, इरानी मिडियाले उक्त जहाजलाई देशको विशेष फौजले नियन्त्रणमा लिएको बताएको छ ।

इरानको सरकारी समाचार एजेन्सी इरनाले भनेको – इस्लामिक रिभोलुसन गार्ड्स कोरको नौसेना दलले एमएससओ एरिजलाई कब्जामा लिएको छ। जहाजलाई इरानी भूभागमा लैजाने तयारी भइरहेको पनि बताइएको छ ।

एमएससीका अनुसार यस जहाजमा २५ जना चालक दलका सदस्य रहेका छन् । यद्यपी इरानले अहिलेसम्म कुनै औपचारिक वक्तव्य दिएको छैन ।

यस घटनाक्रममा प्रतिक्रिया दिँदै इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीटरमा लेखेका छन् – इरानले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै समुद्री डकैतीको अभियान सुरु गरेको छ।

उनले भने, “मैले इरान रिभोलुसनरी गार्ड्स कोर्प्सलाई तुरुन्तै आतंकवादी संगठन घोषणा गर्न र इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघ र अन्य पश्चिमी देशहरूसँग कुरा गरेको छु।”

अप्रिल १ मा इरानको वाणिज्य दूतावासमा भएको घातक हमलापछि इरानले बदला लिने वाचा गरेको थियो । इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको थियो । यस हमलामा इरानका एक वरिष्ठ आईआरजीसी कमाण्डर पनि मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *