मुस्लिम देशहरूले इजरायलको विरोध गरिरहँदा सबैभन्दा ठूलो मुस्लिम देश इजरायलसँग नजिकिँदै !

डिसी नेपाल
२ वैशाख २०८१ १३:४४

काठमाडौं । इजरायल र हमासबीच जारी युद्धको बीचमा विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाले ठूलो कदम चाल्न लागेको छ । रिपोर्टका अनुसार इन्डोनेसियाले ओइसीडी अर्थात् आर्थिक सहयोग र विकास संगठनमा सामेल हुने बदलामा इजरायलसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रक्रिया सुरु गर्न सहमत भएको छ।

ओइसीडीमा नयाँ देशहरू थप्न सबै ३८ सदस्य देशहरूको स्वीकृति आवश्यक छ। अर्थात्, इन्डोनेसियालाई यस व्यापार संगठनको सदस्यता प्राप्त गर्न इजरायल सहित ३८ सदस्य राष्ट्रहरूको स्वीकृति आवश्यक छ। तर ओइसीडी सदस्य राष्ट्र इजरायलले इन्डोनेसियासँग कूटनीतिक सम्बन्ध नभएको भन्दै विरोध गर्दै आएको छ ।

इजरायली समाचार वेबसाइट वाइनेटलाई उद्धृत गर्दै मध्य पूर्वको एक समाचार वेबसाइटले लेखेको छ – यदि इजरायलले ओइसीडीमा इन्डोनेसियालाई समावेश गर्न समर्थन गर्छ भने त्यसको बदलामा इन्डोनेसियाले इजरायलसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रक्रिया सुरु गर्नेछ। रिपोर्टका अनुसार यस विषयमा दुई देशबीच विगत तीन महिनादेखि वार्ता चलिरहेको थियो । यद्यपि, इन्डोनेसियाले पछि यो रिपोर्टलाई अस्वीकार गर्यो।

ओइसीडीका महासचिव म्याथियास कोर्मनले इजरायली विदेशमन्त्री काट्जलाई लेखेको पत्रमा काउन्सिलले प्रारम्भिक सर्तहरूमा इन्डोनेसिया आधिकारिक रूपमा सहमत भएको कुरा बताउन पाउँदा आफूलाई खुशी लागेको बताए।

यी सर्तहरूमा, इन्डोनेसियाले ओइसीडीमा सामेल हुन कुनै निर्णय गर्नु अघि सबै ओइसीडी सदस्य देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्नेछ। कोर्मनका अनुसार इन्डोनेसियाले प्रारम्भिक सर्तहरूमा सहमत हुन पहिले नै स्वीकृति दिइसकेको थियो।

यसबाहेक इन्डोनेसियालाई संस्थाको सदस्य राष्ट्रका रूपमा स्वीकार गर्ने कुनै पनि निर्णय गर्नुअघि इजरायलसहित सबै सदस्य राष्ट्रको सहमति आवश्यक हुने कुरा पनि कोरमनको पत्रमा उल्लेख गरिएको छ ।

ओईसीडी महासचिवको पत्रको जवाफ दिँदै इजरायलका विदेशमन्त्रीले लेखे, “म इन्डोनेसियाको यो निर्णयलाई स्वागत गर्दछु। यो कदमले इन्डोनेसियाका लागि परिवर्तन ल्याउने आशा राख्दछु। म इजरायलप्रति इन्डोनेसियाको नीतिलाई स्वागत गर्दछु। विशेष गरी सकारात्मक परिवर्तनको आशा गर्दछु। इन्डोनेसियाले आफ्नो ‘शत्रुतापूर्ण’ नीति त्यागेर सबै देशहरूबीच पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने नीति अवलम्बन गर्नेछ।”

यद्यपी यसबारे इन्डोनेसियाले कुनै आधिकारिक टिप्पणी गरेको छैन । तर अनौपचारिक रूपमा दुई देशबीच लामो समयदेखि सम्बन्ध रहेको छ। इजरायलका पूर्व प्रधानमन्त्री यित्जाक राबिन र शिमोन पेरेज दुवैले क्रमशः १९९३ र २००० मा इन्डोनेसियाको भ्रमण गरेका थिए। यसबाहेक नफ्ताली बेनेटले पनि २०१३ मा तत्कालीन अर्थमन्त्रीका रूपमा इन्डोनेसियाको भ्रमण गरेका थिए । रिपोर्टका अनुसार सन् २०१८ मा इन्डोनेसियाले इजरायली नागरिकलाई पर्यटक भिसा दिन थालेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *