बहिनीको हत्या गरेर लाशलाई बलात्कार गर्नेलाई मृत्युदण्ड, ११ मिनेट तड्पिएपछि मरे

डिसी नेपाल
२ वैशाख २०८१ १५:५८

काठमाडौं । अमेरिकाको मिसौरीमा बहिनी र उनका श्रीमानको हत्या गर्ने एक दोषीलाई मृत्युदण्डको सजाय दिइएको छ । उनलाई विषालु सुई लगाइएको थियो ।

अमेरिकी सञ्चारमाध्यम ‘फक्स २ नाउ’का अनुसार आरोपितलाई सुई लगाएपछि ११ मिनेटसम्म तड्पिरहे । त्यसपछि उनलाई मृत घोषणा गरियो। उनलाई मंगलबार साँझ ६ बजे घातक इन्जेक्सन दिइएको थियो । उनको ६:११ मा मृत्यु भयो। ५२ वर्षीय दोषी ब्रायन डोर्सीले सन् २००६ मा आफ्नी बहिनी र उनका श्रीमानको हत्या गरेका थिए ।

२३ डिसेम्बर २००६ मा दोषी ब्रायन डोर्सीले बहिनी सारासँग लागुऔषध कारोबारीहरूलाई दिनको लागि केही पैसा मागेका थिए। साराले पैसा दिन मानिनन् । यो देखेर रिसाएका ब्रायन आफ्नो घर फर्किए तर राति बहिनीको घर फर्किए । जब सारा र उनका पति बेन सुत्न जाँदै थिए, ब्रायनले उनीहरूलाई आक्रमण गरे।

दुवैलाई गोली हानिएको थियो । साराको मृत्युपछि उनको शरीरमा यौन शोषण भएको थियो । घरबाट केही बहुमूल्य सामान चोरी पनि भएको थियो । ब्रायनले लागुऔषध कारोबारीलाई पैसा तिर्न यी वस्तुहरू बेचेका थिए। घटनाको भोलिपल्ट साराका अभिभावक उनको घर पुगेका थिए । यहाँ श्रीमान श्रीमतीको शव फेला परेको थियो ।

सारा र बेनको शव पहिलो पटक साराका अभिभावकले देखेका थिए । घर पुग्दा सारा र बेनकी ४ वर्षीया छोरी घरमा टिभी हेर्दै थिइन् । उनले हजुरबा हजुरआमालाई भनिन्, “आमा उठ्नु भएको छैन।” घटनाको तीन दिन पछि अर्थात् २६ डिसेम्बर २००६ मा, ब्रायनले प्रहरीसमक्ष आत्मसमर्पण गरे। उनलाई २८ अगस्ट २००८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *