इरानले भन्यो – पश्चिमा देशहरूले हाम्रो प्रशंशा गर्नुपर्छ

डिसी नेपाल
४ वैशाख २०८१ ११:४२

काठमाडौं । इरानले इजरायलप्रति संयमता अपनाएकोमा पश्चिमी देशहरूले इरानको प्रशंसा गर्नुपर्ने बताएको छ ।

अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको सन्दर्भमा इरानी अधिकारीहरूले यस्तो बताएका हुन्।

यसमा कुल १३ जनाको ज्यान गएको थियो जसमा रिभोल्युसनरी गार्डका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए ।

इरानले शनिबार राति इजरायलतर्फ करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको छ । तर, इजरायलले इरानले प्रहार गरेका ड्रोन र मिसाइलमध्ये ९९ प्रतिशत खसालेको दाबी गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, “इरानलाई दोष दिनुको सट्टा पश्चिमी देशहरूले आफूलाई जिम्मेवार ठान्नुपर्छ । गाजामा इजरायलले गरेको युद्ध र अपराधमा उनीहरूले के कारबाही गरेका छन् भन्ने जवाफ दिनुपर्छ।”

कनानीले भने, “पश्चिमी देशहरूले विगत महिनाहरूमा इरानले देखाएको संयमको प्रशंसा गर्नुपर्छ।”

यसैबीच इरानसँग निकट मानिने चीन र रुसले दुवै देश (इरान र इजरायल)लाई संयम अपनाउन आग्रह गरेका छन् ।

तर, रुसले इरानको आक्रमणको आलोचना गरेको छैन । यसैबीच चीनको विदेश मन्त्रालयले शान्ति कायम राख्न अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *