पाकिस्तानमा भीषण वर्षाका कारण चार दिनमा ६३ जनाको मृत्यु

डिसी नेपाल
६ वैशाख २०८१ १२:२२

काठमाडौं । पाकिस्तानमा चट्याङ र भारी वर्षाका कारण चार दिनमा ६३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीका अनुसार सबैभन्दा बढी मृत्यु पाकिस्तानको उत्तरपश्चिममा रहेको खैबर पख्तुनख्वा प्रान्तमा भएको हो। यहाँ भवन भत्किँदा १५ बालबालिका र पाँच महिलासहित ३२ जनाको मृत्यु भएको थियो ।

विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता खुर्शिद अनवरका अनुसार उत्तरपश्चिममा दर्जनौं घाइते भएका छन् भने १३७० घरमा क्षति पुगेको छ । तथ्याङ्क अनुसार पाकिस्तानको पञ्जाब प्रान्तमा चट्याङ र घर भत्किने घटनामा २१ जनाको मृत्यु भएको छ भने बलुचिस्तानमा १० जनाको ज्यान गएको छ । बलुचिस्तानमा बुधबार पनि उद्धार र राहत कार्य जारी छ, यद्यपि वर्षाको खतरा अझै कायमै छ।

अचानक आएको बाढीपछि आपतकाल घोषणा गरिएको छ । पाकिस्तान मौसम विभागका वरिष्ठ अधिकारी जहीर अहमद बाबरले जलवायु परिवर्तनका कारण अप्रिल महिनामा पाकिस्तानमा भारी वर्षा हुने बताए।

सामान्यभन्दा २५६ प्रतिशत बढी वर्षा भएको बाबरले बताए । अहिलेसम्म बलुचिस्तानमा सामान्यभन्दा २५६ प्रतिशत बढी वर्षा भएको छ । पूरै पाकिस्तानमा यो महिना सामान्यभन्दा ६१ प्रतिशत बढी वर्षा भएको छ र यसले देशमा जलवायु परिवर्तन भइसकेको देखाउँछ।

उनले भने – २०२२ मा भारी वर्षाका कारण नदीहरू बढेका थिए र कुनै बेला पाकिस्तानको एक तिहाइ भाग बाढीले ढाकेको थियो। जसमा १ हजार ७३९ जनाको ज्यान गएको थियो । बाढीले ३० अर्ब अमेरिकी डलरको नोक्सानी पनि बेहोरेको थियो, जसबाट पाकिस्तानले अझै पुन: प्राप्तिको प्रयास गरिरहेको छ।

छिमेकी अफगानिस्तानमा पनि यो महिना भारी वर्षा भएको छ। वर्षासँग सम्बन्धित घटनामा अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *