खाडी क्षेत्रमा आएको घातक आँधीसँगै दुबई विमानस्थलमा भद्रगोल

डिसी नेपाल
७ वैशाख २०८१ ६:४१

बीबीसी। खाडी देशहरूमा परेको भारी वर्षाको मारले घातक आकस्मिक बाढी आउनुका साथै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरूमा असर पारेको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलले आफूले “निकै चुनौतिपूर्ण अवस्था” सामना गरिरहेको जनाएको छ। विमानस्थल क्षेत्रमा पानीको भेल पसेकाले विमानस्थलले केही यात्रुहरूलाई त्यहाँ आइनहाल्न भनेको छ।

त्यहाँ अचानक आएको बाढीमा आफ्नो कार परेपछि एकजनाले ज्यान गुमाएका छन्। ओमानमा आइतवारयता पछिल्लो विपद्‍मा परेर १९ जनाको मृत्यु भएको विवरण छ।

बुधवार दुबईका लागि र त्यहाँबाट उड्ने तय गरिएका झण्डै २९० उडानहरू रद्द गरिएको फ्लाइट अवेर डेटाले साँझको जीएमटी समय ९ बजे जनाएको छ।

उसको विवरणमा थप ४४० उडानहरू थप ढिलो भइरहेको उल्लेख छ। दुबई विमानस्थल सबै महादेशहरू जोडिने उडानको एउटा मुख्य केन्द्रका रूपमा छ।

गत वर्ष मात्र उक्त विमानस्थललाई ८ करोड यात्रुहरूले प्रयोग गरेका थिए जुन अमेरिकाको एट्लान्टापछि दोस्रो हो। विमानस्थलले सामान्य अवस्थामा फर्कन “केही समय” लाग्ने भन्दै सजग गराएको छ। उसको पछिल्लो सूचनामा विमान कम्पनीहरूसँग पुष्टि नगरीकन विमानस्थलको टर्मिनल वानको प्रयोग र विमानस्थलतर्फ अनावश्यक यात्रा नगर्न भनिएको छ।

दुबईमा मुख्यालय रहेको एउटा प्रमुख अन्तर्राष्ट्रिय एअरलाइन इमिरेत्सले बिहीवारसम्मका लागि सहर छाड्ने यात्रुहरूको चेक इन रद्द गरेको थियो। अधिकारीहरूले थप चट्याङ, ठूलो वर्षा र शक्तिशाली हुरीको पूर्वानुमान रहेको भन्दै चेतावनी दिएका छन्। त्यहाँका कैयौँ तल्लो तटीय क्षेत्र अझै डुबानमा छन्।

ओमानको उत्तरी छिमेकी यूएईले मंगलवार सामना गरेको वर्षा विवरण राख्न थालिएको ७५ वर्ष यताकै सबैभन्दा ठूलो हो। त्यहाँको मौसम निकायले यूएईको अल-अइन क्षेत्रको एक स्थानमा २४ घण्टाभन्दा कम अवधिमा २५४.८ मिलिमिटर (९.७ इन्च) वर्षा भएको उल्लेख गरेको छ।

यूएईमा वर्षेनी औसत १४०-२०० मिलिमिटर र दुबईमा सामान्यत: वार्षिक ९७ मिलिमिटर वर्षा हुनेगर्छ। यसअघि त्यहाँको एप्रिल महिनाको औसत वर्षा झण्डै ८ मिलिमिटर रहेको थियो।

मध्य दुबईबाट लिइएका भिडिओहरूमा शेख जयेद रोडको डुबान क्षेत्रमा दर्जनौँ गाडीहरू जलमग्न अवस्थामा देखिन्छन्। अन्यत्रका १२ लेन फराकिला सडकमा समेत लामो ट्राफिक जाम देखिन्छ।

मुख्य अन्तर्राष्ट्रिय विमान स्थलमा १२ घण्टादेखि अलपत्र परेका एक ब्रिटिश दम्पती केट र एन्ड्रु गोल्डिङले अवस्थालाई “पूरै भद्रगोल” बताउँछन्।

ब्रिटेनको केन्टबाट उनीहरू केटको ६०औँ जन्मदिन मनाउन त्यहाँ पुगे तापनि यस भ्रमण आफ्नी श्रीमतीका लागि “अविस्मरणीय” बनेको एन्ड्रु बताउँछन्।

अन्य केही यात्रुहरूले टिकट देखाउने स्थलमा नाराबाजी र धर्ना दिएको तर त्यहाँ कुनै कर्मचारी नदेखिएको बताएका छन्। आफ्ना साना तीन सन्तान र श्रीमान्का साथ हिथ्रो फर्कन सङ्घर्ष गरिरहेकी एनी विङ्ले भनिन्: “यो कहालीलाग्दो छ, हामीलाई जनावरझैँ कुल्चिएको छ – यो डरलाग्दो र अमानवीय छ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *