इजरायली आक्रमणमा गर्भवती महिलाको मृत्यु, डाक्टरले गर्भमा रहेको बच्चालाई बचाए

डिसी नेपाल
१० वैशाख २०८१ १४:२७

काठमाडौं । इजरायल र हमासबीच केही महिनादेखि चलिरहेको युद्ध एउटा डरलाग्दो त्रासदी बनेको छ । इजरायली आक्रमणका कारण गाजा पट्टी चिहानमा परिणत भएको छ ।

रफाहमा गएराति इजरायली बमबारीमा एक गर्भवती प्यालेस्टिनी महिलाको मृत्यु भएको छ । तर महिलाको गर्भमा रहेको छोरीलाई सी–सेक्शनमार्फत तुरुन्तै बचाइयो ।

इजरायली बमबारीमा मारिएकी एक महिलालाई डाक्टरहरूले सी-सेक्शनको शल्यक्रिया गरेर गर्भको बच्चालाई बचाए। डाक्टर मोहम्मद सलामाका अनुसार जन्मिदा बालिकाको तौल १.४ किलो थियो । अहिले बालिकाको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै गइरहेको छ ।

आक्रमणको समयमा बालिकाकी आमा सबरीन अल-सकानी ३० हप्ताकी गर्भवती थिइन् । बालिकालाई अन्य नवजात शिशुसहित राफाह अस्पतालको इन्क्युबेटरमा राखिएको छ । उनको शरीरमा उनी शहीद साबरी अल-सकानीकी छोरी हुन् भनेर लेखिएको छ।

इजरायली बमबारीमा सकानी, उनका श्रीमान् र छोरी मलाकको पनि मृत्यु भएको सकानीका आफन्तले बताए । मलाक आफ्नी भावी बहिनीको नाम रुह राख्‍न चाहन्थिन् । आफ्नी कान्छी बहिनी छिट्टै यो संसारमा आउन लागेकोमा मलाक खुसी थिइन् ।

बालिकालाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिने चिकित्सकले बताएका छन् । त्यसपछि बच्चा कसलाई हस्तान्तरण गर्ने निर्णय हुनेछ।

गत राति राफाहमा भएको आक्रमणमा १९ जनाको मृत्यु भएको थियो । इजरायली बमबारीबाट दुईवटा घर प्रभावित भएका थिए, जसमा एकै परिवारका १३ बालबालिकाको मृत्यु भएको थियो।

इजरायलले हमासको आक्रमणको बदला लिँदा गाजामा ३३ हजार प्यालेस्टिनी मारिएका छन् । ज्यान गुमाउनेहरूमा ७० प्रतिशत महिला र बालबालिका छन् – तीमध्ये लगभग १४,३५० बालबालिका थिए।

संयुक्त राष्ट्र संघका अनुसार मृत्यु हुनेमा संयुक्त राष्ट्र संघका १७० भन्दा बढी कर्मचारी र सात वल्र्ड सेन्ट्रल किचनका कर्मचारी रहेका छन् । पत्रकारका लागि काम गर्ने संस्थाका अनुसार छ महिनामा ९० भन्दा बढी पत्रकारले ज्यान गुमाएका छन् ।

अक्टोबर ७ मा हमासले गाजा पट्टीबाट ५ हजारभन्दा बढी रकेट प्रहार गरेर इजरायलमा आक्रमण गरेको थियो । त्यसको लगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए । यस युद्धमा गाजा पट्टी पूर्ण रूपमा ध्वस्त भएको छ।

इजरायल र हमासबीचको युद्धमा मारिने प्यालेस्टिनी नागरिकको संख्या ३३ हजार नाघेको छ । हालसम्म गाजाका २३ लाख नागरिकमध्ये आधाले आफ्नो घर छोडिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *