६ खेल बाँकी छँदै बैंगलोर आइपीएल प्लेअफ दौडबाट बाहिरिने संघारमा, अब चमत्कारले मात्र बचाउन सक्ने

डिसी नेपाल
१० वैशाख २०८१ १६:११

काठमाडौं । इन्डियन प्रिमियर लिग २०२४ सिजनमा आइतवारसम्म ३७ खेलहरू खेलिएका छन्। सोही दिन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीच रोमाञ्चक खेल भएको थियो । यो खेलमा केकेआर अन्तिम बलमा १ रनले विजयी भयो ।

यो सिजनमा विराट कोहलीको टिम आरसीबीको ८ खेलमा सातौं हार हो । साथै, आरसीबीले लगातार छैटौं खेलमा हार बेहोरेको छ। यो टोलीको अवस्था यति खराब छ कि यो अहिले अंक तालिकाको पुछारमा अर्थात् १० औं स्थानमा छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको आरसीबी टोलीले यो सिजनमा थप ६ खेल खेल्नुपर्नेछ । यस्तो अवस्थामा फ्यानहरू पक्कै जान्न चाहन्छन् कि आरसीबी टोली प्लेअफमा पुग्न सक्छ कि सक्दैन? के यो टोलीको प्लेअफमा पुग्ने आशा पूर्णतया हराएको हो ?

अब यदि आरसीबीले आफ्ना बाँकी ६ खेल सबै जित्यो भने यसको कुल १४ अंक हुनेछ। यस्तो अवस्थामा आरसीबीलाई प्लेअफमा पुग्न पूर्ण रूपमा असम्भव देखिन्छ। तर, कुनै चमत्कार भयो भने आरसीबी नाटकीय रूपमा प्लेअफ पुग्ने झिनो सम्भावना भने बाँकी छ ।

आईपीएलमा २०२२ को सिजनबाट १० टिम खेलिरहेका छन् । त्यसयता कुनै पनि टोली १४ अंकसहित प्लेअफमा पुग्न सकेको छैन। यसअघि २ सिजनमा प्लेअफ जाने ४ टिममध्ये पुछारमा अर्थात चौथो स्थानमा रहेको टोलीको पनि १६ अंक थियो । यस्तो अवस्थामा आरसीबी टोलीको प्लेअफ पुग्ने सम्भावना न्यून देखिन्छ ।

तर यदि बाँकी टोलीहरूले आफ्नो खेल हारे र चौथो स्थानको टोलीको लागि समीकरण १४ अंकमा आयो भने आरसीबीले केही आशा गर्न सक्छ। त्यसका लागि पनि आरसीबीले आफ्ना बाँकी खेलहरू राम्रो अन्तरले जित्नुपर्नेछ र राम्रो नेट रन रेट कायम गर्नुपर्नेछ। तर यसका लागि आशा धेरै कम देखिन्छ।

आरसीबी टोली २०२२ सिजनमा प्लेअफका लागि छनोट भएको थियो। त्यस सिजनमा यो टोली १६ अंकसहित चौथो स्थानमा थियो । राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स १८–१८ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए । गुजरात शीर्ष (२०) थियो।

गत सिजनमा पनि गुजरात शीर्ष (२०) थियो। त्यसपछि चेन्नई सुपर किंग्स र लखनउ १७–१७ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए । १६ अंक जोडेको मुम्बई इन्डियन्स चौथो स्थानमा थियो । यस सिजनमा आरसीबी टोली १४ अंकसहित छैटौं स्थानमा थियो । यस्तो अवस्थामा यसपटक पनि आरसीबीको प्लेअफ पुग्ने सम्भावना कम देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *