त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षणसम्बन्धी एक हप्ते तालिम

डिसी नेपाल
१२ वैशाख २०८१ ७:२०

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापनसम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिमको आयोजना गरेको छ।

विभागमामा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरू,अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरू गरी २० जना सहभागी छन्। तालिममा माटोको परीक्षण गर्ने सीपको विकास गरी सहभागीहरूलाई माटोसम्बन्धी अनुसन्धान गर्ने विधिका बारेमा अभ्यस्त पार्ने उद्देश्य रहेको छ।

कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले देशका लागि अनुरकणीय व्यक्तित्वहरूले विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले तालिममा सहभागीहरूलाई सीप र क्षमताको विकास गर्दै अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेका थिए।

तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफ्नो मिहनेतलाई बढावा दिन र उपलब्ध स्रोत र साधनको सकरात्मक उपयोग गरी क्षमता विकास गर्न सबैलाई उनले अनुरोध गरेका थिए।

आफ्नो सीप, क्षमता र ज्ञानप्रति सधैँ प्रश्न गर्दै आफूलाई परिस्कृत बनाई अव्बल क्षमता हासिल गर्न सक्ने भन्दै उनले विज्ञहरूलाई आफ्नो क्षमतानुसार व्यवहारिक ज्ञान आर्जन तालिममा सहभागीहरूलाई सहयोग गरिदिनुहुन समेत आग्रह गरे।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्रबहादुर राईले सहभागीहरूको सक्रियताबाट मात्रै तालिमबाट उपलब्धि हासिल हुन सक्ने भन्दै प्रविधिको अधिकतम प्रयोगमार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने जनाए।

भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा उमेशकुमार मण्डलले २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा “साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी परियोजना” अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणमा क्षमता विकास तालिम आयोजना गरेको जानकारी दिए।

माटोविज्ञ सन्तोषकुमार श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डेले तालिममा विज्ञको रुपमा सहभागी छन्। तालिममा माटोका पिएच मान, टेक्स्चर, पोटासियम फोसफरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका १६ विविध पक्षहरूको परीक्षण गर्ने विधिमा केन्द्रित रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *