नेपाल आएको वेष्ट इण्डिज ‘ए’ टिमका १५ मध्ये १२ खेलाडी राष्ट्रिय टोलीका, २ जना २०२२ विश्वकप खेलेका

डिसी नेपाल
१२ वैशाख २०८१ १३:०१

काठमाडौं । नेपालसँग ५ टि–२० अभ्यास खेलको सिरिज खेल्नको लागि नेपाल आएको वेष्ट इण्डिज ए टोलीमा अधिकांश खेलाडीहरु त्यहाँको राष्ट्रिय टिमका लागि खेलिसकेका खेलाडी छन् । बाँकी ३ जना खेलाडीहरु पनि माथिल्लो स्तरको टि–२० लिग खेलिसकेका खेलाडीहरु छन् ।

नेपाल आएको वेष्ट इण्डिज ए टोलीको कप्तानी रोस्टन चेसले गर्नेछन् । उनले वेष्ट इण्डिजको सिनियर टिमको लागि ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टि–२० खेलिसकेका छन् । २०२४ को सुरुमा अस्ट्रेलियाविरुद्ध भएको टि–२० खेलमा पनि उनले खेलेका थिए ।

उपकप्तान एलिक एथानाजेले पनि वेष्ट इण्डिजको सिनियर टिमका लागि ४ टेस्ट र ११ एकदिवसीय खेलिसकेका छन् । २५ वर्षका उनले २०२३ मा मात्र राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

यीबाहेक फेबियन एलन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्शले पनि वेष्ट इण्डिजको सिनियर टोलीका लागि खेलिसकेका छन् ।

कादिम एलीने, जोशुआ बिशप र मार्क देयलले मात्र सिनियर राष्ट्रिय टोलीमा डेब्यू गर्न पाएका छैनन् । राष्ट्रिय टोलीमा नपरेका भए पनि यी खेलाडीहरुले माथिल्लो स्तरको टि–२० लिग क्यारेबियन प्रिमियर लिग लगायत अन्य लिग पनि खेलिसकेका छन् ।

वेष्ट इण्डिज ए टोलीका २ खेलाडीले यसअघि २०२२ मा भएको टि–२० विश्व्कप पनि खेलेका थिए । विकेटकिपर जोनसन चार्ल्र्स र बलर ओबेद म्याककोयले २०२२ को टि–२० विश्व्कप खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *