भैंसी पाल्ने किसानलाई पैयुँ गाउँपालिकाको पचास हजार अनुदान
पर्वत। जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैंसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ।
किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो।
यसअघि राँगा पालेका प्रत्येक किसानलाई रु २० हजार अनुदान दिएको पालिकाले भैंसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए। सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन्। गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई रु चार लाख अनुदान वितरण गरेको छ।
गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैंसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैंसी रु ५० हजारका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए।
यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो। पालिकामा किसानले एउटा भैंसीलाई राँगो लगाएको रु एक हजार ५०० खर्च तिर्दै आएका छन्।
अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ। राँगापालक किसानलाई रु चार लाख वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment