चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

डिसी नेपाल
२६ वैशाख २०८१ १२:१४

ललितपुर। ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रंगको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ। यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रूखहरु छन्। अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रंगमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन्।

थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको बताउँछन् स्थानीय वीरेन्द्र तितुङ। उनी भन्छन्, “हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ। जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको बस्तीको पनि शोभा बढाएको छ।”

सोही फूलको दृश्य नियालिरहेका सर्जु रिजाल पनि जाकाराण्डा फूलले वर्षको एकपटक भए पनि वसन्त ऋतुको सम्झना गराउने गरेको बताउँछन्। विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउने सर्जु अन्य देशमा फरक फरक रंगका जकाराण्डा देखिने भए पनि यहाँ एकै रंगमा सजिएका दृश्य थप मनमोहक रहेका धारणा राख्छन्। ।

रिजाल भन्छन्, “जर्मनलगायत अन्य देशमा जाकाराण्डा विभिन्न रंगको हुन्छ तर यो चक्रपथमा एकै रंगको छ । हुन त यो पनि राम्रै देखिएको छ तर फरक–फरक रंगको भयो भने झन् शोभनीय देखिन्थ्यो।”

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तिमध्ये केही फुल्न सुरूगरेका छन् भने केही भर्खर हुर्कंदैछन् । केही रूखहरु फुलेर सडक ढपक्कै ढाकेका छन्। अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *