पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा

डिसी नेपाल
२७ वैशाख २०८१ २१:०२
28
Shares

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भोली पोखरामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पूरा भएको छ। मञ्चले आज पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार अपराह्न पोखरा सभागृहमा हुने अवार्ड समारोहको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको जनाएको हो। गत एक वर्षको अवधिमा खेलकुद क्षेत्रमा गरेको योगदानका आधारमा खेलाडी तथा खेल संघ संस्था लगायतलाई अवार्ड प्रदान गर्नेछ।

मञ्चले वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी सात विधामा अवार्ड प्रदान गरिने मञ्चका दीननाथ बरालले जानकारी दिए।

बरालका अनुससार वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चार वटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भइसकेको छ।

वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्। वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन्। वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन्।

यसैगरी १७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन्।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु छन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्। यसैगरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिने छ । उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ। वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए।

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद रु ३५ हजारको साथमा अवार्ड पाउने छन्। यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्र्तराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गर्ने निर्णय गरिएको महासचिव पौडेलले बताए।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती रहने मञ्चले जनाएको छ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ। पोखरा महानगरपालिकाको समन्वयमा हुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्ले सघाउनेछन्। प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ। खेलकुद विधामा विशेष गरी कलम चलाउँदै आएका ७४ पत्रकार हाल मञ्चमा आबद्ध रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *