अमेरिका लैजाने प्रलोभनमा करोडौं असुलेर अफ्रिकामा बन्धक
दिल्लीको होटलमा बसेर नेपालबाट मानव तस्करी
काठमाडौं। नेपालबाट दिल्ली हुँदै केन्या-युगाण्डासम्म मानव तस्करी गर्ने र्याकेट फेला परेको छ। काठमाडौबाट वेरोजगार युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै दिल्ली पुर्याउने र दिल्लीमै बसेर वैदेशिक रोजगारको नाममा दक्षिण अफ्रिकी द्वन्दग्रस्त मुलुकहरु केन्या युगण्डा लैजाने र्याकेट फेला परेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा केही दिन अघि यस्तो र्याकेट सञ्चालन गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सो गिरोहले अमेरिका पठाउने भन्दै केन्या र युगाण्डामा लगेर बन्ध बनाउने गरेको खुलेको छ।
यो गिरोहले अमेरिका लैजाँदा नेपालको बाटो हुँदै दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर ६ महिनादेखि ९ महिनासम्म रकम र राहदानी लिई नेपालीलाई अलपत्र पार्दै आएका थिए।
केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राखेर काम गर्दै आएको गिरोहले अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
यसरी गिरोह सञ्चालनका गरेको आरोपमा पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बाका जगतबहादुर तामाङ, तनहुँ ऋषिङका जंगबहादुर बिक (बराल) र सोही ठाउँका विष्णुबहादुर बराली छन्।
उनीहरूलाई सार्वजनिक गर्ने क्रममा अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ परेकामध्ये तामाङ गिरोहको मुख्य नाइके भएको दावी गरे। उनका अनुसार एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा उनीहरु पक्राउ परेका छन्। पीडितहरुले भने पाँच करोड मात्रै उजुरी दिएका छन्।
प्रहरीले यसअघि १० जनाबाट ठगी गरेको आरोपमा काठमाडौंमा बसेर एजेन्टको काम गर्ने तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। टासी शेर्पा, उनकी श्रीमती ङिमबुटी र आफन्त निमा शेर्पाले नै अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट पाँच करोड ५० लाख रुपैयाँ उठाएर दिल्लीमा बसेका तामाङलाई पठाउँदै आएको प्रहरीले जनाएको छ।
एसएसपी भट्टराईले दिएको जानकारी अनुसार भारतको पहाडगञ्जमा नेपाल प्रहरी पुग्दा तामाङ, बिक र बरालीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर उनीहरू बसकै होटलमा हत्कडी लगाएर राखेको थियो। उनीहरू दिल्लीमा विगत एक वर्षदेखि बसेर ठगीको धन्दा चलाउँदै आएको थिए।
‘दिल्लीका लागि हाम्रो राति साढे नौ बजेको फ्लाइट थियो, आकाशमा जहाज तीन घण्टा होल्ड भयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। उनका अनुसार दिल्लीमा नेपालीले नै सञ्चालन गरेको होटल स्टे-इन डिएक्समा बसेका थिए।
गिरोहले पीडितहरू अमेरिका प्रवेश गरेपश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानून व्यवसायी प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनी पहिले नै आश्वासन दिएर विश्वासमा पारी रकम असुल्ने गरेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment