ताइवानलाई घेरा हाल्दै चीनको युद्ध अभ्यास

डिसी नेपाल
१० जेठ २०८१ १७:२०

काठमाडौं। तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर अभ्यास सुरु गरेको छ। चीनले ताइवानविरुद्ध यति ठूलो युद्धाभ्यास गरेको यो पहिलो पटक हो। यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो।

ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो । तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन्।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो। चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड–२०२४ ए’ नाम दिएको छ। यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ।

ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन्। लाइले चीनलाई आफ्नो क्रोध रोक्न र सम्पूर्ण क्षेत्रमा शान्ति कायम गर्न प्रयास गर्न अपील गरेका छन्। लाइका अनुसार अभ्यास भइरहेको टापुहरू ताइवानकै हुन्। साथै, ताइवानी सेनालाई पनि अलर्टमा राखिएको छ, ताकि सम्पूर्ण क्षेत्रमा शान्ति कायम होस्।

राष्ट्रपति बनेपछि लाइले आफ्नो पहिलो सम्बोधनमा ताइवान एक स्वतन्त्र देश हो, जसले देशको सार्वभौमसत्ता कायम राख्न जे पनि गर्न सक्छ भन्ने कुरा पनि बताए। ताइवान सरकारले आफ्नो लोकतन्त्र र स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने उनले बताएका थिए।

त्यसको भोलिपल्ट चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानको प्रतिवाद गरे। उनले भने, ‘ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ्–टे र उनका सहयोगीहरूले आफ्नो कार्यले देशलाई मात्र होइन हाम्रा पुर्खाहरूलाई पनि धोका दिएका छन्।’ यसअघि गत वर्षको अगस्टमा पनि चिनियाँ सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) का सैनिकहरू ताइवानमा आक्रमणको लागि तालिम लिइरहेको देखिएका थिए।

अमेरिकाले सन् १९७९ मा चीनसँगको सम्बन्ध पुनर्स्थापित गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो। तर, चीनको आपत्तिका बाबजुद अमेरिकाले ताइवानलाई हतियार आपूर्ति जारी राखेको छ। अमेरिकाले पनि दशकौंदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, तर ताइवानको मुद्दामा अस्पष्ट नीति अपनाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *