बुढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

डिसी नेपाल
१४ जेठ २०८१ ७:५२

काठमाडौं। काठमाडौं जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ आदेश जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो। अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो।

नगरले अनधिकृत रुपमा व्यक्तिको जग्गा कब्जा गरेको विषयमा परेको निवेदनमा अदालतले पछिल्लो फैसला गरेको हो।

उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ।

‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ।

तर ६० दिनभित्र पनि संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बुढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न पनि आदेश दिइएको छ।

यसअघि २०८० मंसिर १७ गते एउटा जग्गा विवादमा नगरपालिकाको विपक्षमा फैसला सुनाएको थियो। उक्त जग्गा १०० दिनभित्र व्यक्तिलाई उपयोग गर्न दिनू भनी अदालतले गरेको फैसला नगरपालिकाका मेयर र दुई वडाध्यक्षले अटेर गरेको भन्दै चन्द्रबहादुर थापाले पुन निवेदन दिएका थिए। सो मुद्दामा काठमाडौं जिल्ला अदालतले गत ११ जेठमा आदेश सुनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *