रेमाल आँधीले कोलकाता अस्तव्यस्त, धेरै रेलहरू रद्द

डिसी नेपाल
१४ जेठ २०८१ १०:५६

काठमाडौं । आइतबार राति आएको चक्रवाती आँधीका कारण पश्चिम बंगालको राजधानी कोलकाता र आसपासका धेरै क्षेत्र अस्तव्यस्त भएको छ । हावाहुरीसँगै लगातारको अविरल वर्षाका कारण सयौं रुख र बिजुलीका पोल ढलेका छन् ।

महानगरका धेरै क्षेत्र घुँडामुनिसम्म पानीले भरिएका छन् । सियालदह दक्षिण शाखामा रेलवे ट्र्याकमा रूखहरू ढलेका कारण स्थानीय ट्रेनको आवतजावत ठप्प भएको छ ।

आँधीका कारण मेट्रो सेवा पनि प्रभावित भएको छ । जसका कारण कार्यालय जानेहरुले निकै सास्ती खेप्नु परेको छ ।

हावाहुरीको प्रभावका कारण महानगरपालिकासहित प्रदेशका दक्षिणी भेगमा भारी वर्षा भइरहेको छ ।

सोमबार दिउँसोसम्म भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ । अर्कोतर्फ, कोलकाता नगरपालिकाले निगमका कर्मचारीहरूले स्थिति सुधार गर्न युद्धस्तरमा काम गरिरहेको बताएको छ। मेयर फिरहाद हाकिम आइतबार रातभर निगमको मुख्यालयमै अलपत्र परे ।

विद्युत् मन्त्री अरुप विश्वासले भने, “केही ठाउँमा बिजुलीका पोलहरु ढलेका कारण आपूर्ति अवरुद्ध भएको छ, मर्मत गर्ने काम सुरु भएको छ ।”

कोलकाताको इन्टाली क्षेत्रमा आँधीका कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।

राज्य सरकारी अधिकारीहरूले भनेअनुसार रेमालले दक्षिण २४ परगना जिल्लाको सुन्दरवन र गंगासागर क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको छ। विपद् व्यवस्थापन विभागका धेरै टोली पनि त्यहाँ पुगेका छन् ।

रेमालको प्रभावले कोलकातालगायत धेरै जिल्लामा दिउँसोसम्म भारी वर्षा हुने सम्भावना रहेको अलिपुरस्थित मौसम विभागले जनाएको छ ।

पूर्वी र दक्षिण पूर्वी रेलवेका विभिन्न शाखामा ट्र्याकमा रुख खसेकाले रेल सेवामा ठूलो असर परेको रेलवे स्रोतले जनाएको छ ।

रेलवेले आइतबार नै धेरै स्थानीय र लामो दूरीका ट्रेनहरू रद्द गर्ने घोषणा गरेको थियो। तटीय शहर दिघा जाने सबै रेलहरू पनि पहिले नै रद्द गरिएको थियो।

कामदारलाई ध्यानमा राखेर बिहान केही लोकल रेल चलाउने तयारी थियो । तर अहिले ती पनि बन्द छन् । रेलवेका अनुसार सोमबार सियालदह दक्षिण शाखामा १० वटा ट्रेनहरू रद्द गरिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *