१० रूपैयाँका दुईवटा भारतीय नोट लिलामी हुने, ४ लाखभन्दा बढी मूल्य पर्ने अनुमान

डिसी नेपाल
१४ जेठ २०८१ १३:४२

काठमाडौं । १० रूपैयाँ दरका दुईवटा भारतीय नोटको लिलामी हुने भएको छ । यी नोटलाई लण्डनमा लिलामी गरिनेछ । यो लिलामी मे २९ मा हुनेछ । यी नोटहरू १०६ वर्षअघि डुबेको जहाजबाट फेला परेका हुन् ।

यी नोटहरू २ हजार पाउण्डदेखि २६ सय पाउण्डसम्म (४ लाख नेपाली रूपैयाँभन्दा बढी) मा लिलामी हुने अनुमान गरिएको छ । सन् १९१८ मा एसएस शिराला नामको जहाज लण्डनबाट मुम्बई जाने क्रममा डुबेको थियो । यी नोट त्यही जहाज दुर्घटनामा जोगिएका हुन् ।

यो जहाजलाई जर्मन यु-बोट (पनडुब्बी) ले टार्पेडोले आक्रमण गरेको थियो। त्यतिबेला जहाजमा २१३ जना सवार थिए, जसमध्ये ८ जनाको मृत्यु भएको थियो। मारिनेमा ७ भारतीय थिए । २५ मे १९१८ मा जहाज एसएस शिरालाबाट बरामद भएको नोट लण्डनको नुनन्स मेफेयर लिलामी घरमा बिक्रीको लागि राखिनेछ।

यी नोटहरू त्यतिबेला बैंक अफ इङ्गल्याण्डले छापेको थियो। यो जहाजले ५ हजार टन सामान बोकेको थियो । त्यसमा भारतीय मुद्राको मूल कागज पनि राखिएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार जहाजबाट १, ५ र १० रुपैयाँका नोटहरू बगेर बेलायतको किनारमा पुगेका थिए । त्यसबेला त्यहाँ उपस्थित अफिसरहरूले नोटहरू आफ्नो कब्जामा लिए र केही बाहेक बाँकीलाई च्याते। फाटेका नोटको सट्टा नयाँ नोट छापियो ।

केही दिनअघि बैंक अफ इङ्गल्याण्डले सन् १९१८ मा जहाज डुबेको घटनालाई पोष्टमार्फत शेयर गर्दा यी नोटहरू चर्चामा आएका थिए । त्यसपछि उक्त नोटको सिरियल नम्बर बैंकसँग मिलेको थियो, जसले यो सम्पूर्ण घटनाको प्रमाण दिन्छ।

साथै यस लिलामीमा ब्रिटिस शासनकालदेखि चलेका १०० रुपैयाँका भारतीय नोट पनि बिक्री हुनेछन् । यो नोट ४ देखि ५ लाख रुपैयाँमा बिक्री हुने अनुमान गरिएको छ । यो नोट कलकत्तामा हस्ताक्षर र मोहर लगाइएको थियो। यो टिकट १९१७ र १९३० को बीचमा प्रयोग भएको थियो। यो नोटमा हिन्दी र बंगालीमा लेखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *