हाम्रो पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छः माधव नेपाल

डिसी नेपाल
२० जेठ २०८१ २२:२३
212
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा महाधिवेशन तयारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले विगतमा आन्तरिक तथा मुलुकको राजनीतिक तरलताका कारण दुई पटकसम्म सारिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले अब तोकिएकै समयमा महाधिवेशन हुने प्रष्ट पारे।

निर्धारित समयमै महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्ररूपमा कार्यसम्पादन गरिरहेका र दस्तावेज लेखनकार्य सकिएकाले अब राजनीतिक अन्तर्विरोधको सन्दर्भमा थप छलफल गरिने उल्लेख उनले गरे। राष्ट्रियतामाथि संकट गहिरिँदै गइरहेकाले देशका लोकतान्त्रिक र समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उनको जोड थियो।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या समधान गर्न समाजवादलाई कार्यान्वयन गर्नुपर्ने बताए। उनले देशमा रहेका सम्पूर्ण समस्या, विकार र बिकृतिको समाधान गर्न सकेमात्र सामाजिक रूपान्तरण कायम हुने धारणा राखे।

महासचिव घनश्याम भुसालले राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार तथा ढिलासुस्ती बढ्दै गएको भन्दै रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले कम्युनिष्ट आन्दोलनका विभिन्न अन्योललाई अन्त्य गरी रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउन महाधिवेशन सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ आयोजना हुने बताए।

एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *