थानकोट-चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

डिसी नेपाल
२४ जेठ २०८१ १३:२७
972
Shares

काठमाडौं। गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ।

सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको हो।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो। सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर्घटना हुँदा पाँचजनाको अकालमा मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *