स्वदेशमै उपचारको सुविधा नपाउने अवस्थाले चिन्तित बनाएको छः नारायणमान बिजुक्छेँ

डिसी नेपाल
९ असार २०८१ २२:२४
100
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको अभावमा रोगसँग डराउने दिन आएको बताएका छन्।

नेपाल क्रान्तिकारी महिला संघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको आज आयोजित दोस्रो स्मृतिसभामा उनले स्वदेशमै उपचार गर्छुभन्दा पनि उपचारको सुविधा नपाउने अवस्थाले आफूलाई चिन्तित बनाएको बताए ।

“विसं २०५६ मा शोभाको स्तन क्यान्सरको पहिचान हुँदा टिचिङ अस्पतालका डाक्टरले नेपालमै उपचार सम्भव छ भनेपछि आधा रोग निको भए जस्तै भएको थियो”, उनले भने।

उनले हरेक घरमा एक जना स्वास्थ्यकर्मी हुनुपर्ने अवस्था आएको बताए। “सरकार या राज्यसँग नडराउने हामी रोगसँग डराउनुपर्ने स्थिति आएको छ । क्यानसरको उपचारमा नेपालमा औषधि ल्याउन गर्नुपरेको दौडधुप, उपचारको अवस्था देख्दा दुःखी बनाएको छ।”

कार्यक्रममा वरिष्ठ चिकित्सक प्रकाश सायमीले महिलामा हुने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर चुनौती बनेको बताए। डा सायमीले पत्रु खानाको निरन्तर सेवन, महिलाले ३० वर्षपछि बच्चा जन्माउने, मोटोपन समयमै पहिचान नहुनु, उपचारमा हिच्किचाउनुले पनि क्यान्सर रोग लाग्ने गरेको बताए।

डा सरोज धिताल, क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ, नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरलगायतले स्व शोभाको जीवनीमाथि चर्चा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *