एकीकृत समाजवादीले महाधिवेशनकाे प्रचार गर्न सांस्कृतिक कार्यक्रम गर्दै

डिसी नेपाल
९ असार २०८१ २२:४०
56
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक संकलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ।

पार्टी निकट जनसांस्कृतिक महासंघले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरुको सहभागितामा विभिन्न गीत, नृत्य तथा सांगीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए।

यही असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए। पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको हभागिता रहने छ भने त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ।

कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग सङ्कलन गरिने महासचिव अधिकारीले जानकारी दिए।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनमा महासंघका तर्फबाट १५ जनाले प्रतिनिधिका रुपमा सहभागिता जनाउँदै छन्। पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिसकेको यसअघि नै जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *