नेकपा एसको महाधिवेशन

माधव नेपाललाई टक्कर दिन झलनाथ र घनश्यामको सहकार्य !

डिसी नेपाल
१२ असार २०८१ १६:३७
124
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ।

अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहँदा उनलाई सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन्।

यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन्। खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबी गरिएको छ।

नेताद्वयको सहयात्राले अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ। औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उनले भुसाललाई अगाडि सार्ने रणनीति बनाएको स्रोतले जनाएको छ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुँदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो। करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ।

महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ। कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ।

तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेको राजनीतिक स्वामित्व लिएको बताउँदै यसलाई दशौँ महाधिवेशनको संज्ञा दिएको छ। पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *