चितवन पहिरो अपडेट: बेपत्ता दुई बसको खोजी कार्य जारी, गोताखोर परिचालन
चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए ।
आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए।
यसै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृहप्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
उनले भनेका छन्, नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment