प्रधानमन्त्रीद्वारा महिला भलिबल टोलीलाई बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन्। राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्।
‘नेपालको जित। काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ। बधाई नेपाली टिम’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्।
आज भएको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्यो भने तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले पाखा लागाएको थियो। चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्यो। उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment