लोकगीत ‘बाख्रा करायो’ल्याएका यम बराल भन्छन्- सांगीतिक माहोल अनुसार चल्नुपर्ने रहेछ
काठमाडौं। गायक यम बरालले नयाँ गीत ‘बाख्रा करायो’ ल्याएका छन्। लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ भने विषम आचार्यले एरेन्ज गरेका छन्।
बिहीबार साँझ काठमाडौंमा सीमित शुभचिन्तक र पत्रकारहरुका बीचमा यमले नयाँ गीतको भिडियो रिलिज गरे। प्रेमिकालाई फकाउन गरेको प्रेमीले गरेको भूमिकालाई रमाइलो ढंगमा गीतको भिडियोमा उतारिएको छ।
भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरले अभिनय गरेका छन्।केशवराज भट्टले निर्देशन गरेको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन शाहको सम्पादन तथा कलर संयोजन छ।
गीत सार्वजनिक कार्यक्रममा गायक बरालले ‘बाख्रा करायो’ अहिलेको सांगीतिक माहोलअनुसारको रहेको बताए ।‘मलाई सुनिरहेका श्रोताका साथै अहिलेको पुस्तालाई समेत मध्यनजर गरेर शान्तिश्रीको साथमा यो गीत ल्याएको हुँ । अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ’, उनले भने,‘धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ । अब सक्रिय ढंगले लाग्नेछु ।’
यमले आफूले धेरै गीत तयार गरेर राखेको भए पनि अहिलेको परिस्थितिका कारण सार्वजनिक गर्न डर लागेको समेत बताए । ‘मैले आफ्नै जनराका धेरै गीत तयार पारेको पनि छु । तर के गरौं सांगीतिक माहोल यस्तो छ। लगानी उठ्नसक्छ भन्नेमा ढुक्क हुने ठाउँ छैन’, उनले अगाडि भने,‘समय र माहोल नबुझी गीत ल्याउँदा त्यो गीत शहीद होला कि भन्ने डर हुन्छ।’
कुनै समय पार्श्व गायनमा समेत एकछत्र राज गरेका यमको पछिल्लो समय सांगीतिक सक्रियता पातलिएको विषयमा धेरैले गुनासो गर्ने गरेका छन् ।
उक्त कार्यक्रममा पनि उनलाई पत्रकारले ‘तपाईं बजारबाट टाढा गएको कि बजारले टाढा पुर्याएको ?’भन्ने प्रश्न गरेका थिए। सो प्रश्नको जवाफ दिँदै उनले भने, ‘यसमा बजारकै कुरा आउँछ । कतिपय अवस्थामा चाहँदा-चाहँदै पनि नयाँ सिर्जना लिएर आउन सकस हुनेरहेछ, उनले भने,‘अहिले सबैभन्दा मुख्य कुरा नै लगानी हुन्छ । ठूलो लगानी गरेर गीत ल्याउन चुनौतीपूर्ण छ। बजारबाट लगानी रिटर्न हुने कुनै ग्यारेन्टी हुन्न।’
‘बाख्रा करायो’लाई ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment