पक्राउ परेको एकदिनमै छुटे लुम्बिनीका सांसद केसी, रकम तिरेपछि उन्मुक्ति

डिसी नेपाल
२४ भदौ २०८१ १६:०७

काठमाडौं। किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन्।

उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन्। फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ।

किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि अदालतले कारागार चलान गर्न आदेश दिएको थियो।

साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो। अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए।

नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१)बाट निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *