असोज १५ गतेसम्म सञ्चालन हुने प्रधानसेनापति ट्रफी सुरु
काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति ट्रफी-२०८१ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन्। नेपाली सेनाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरु भएको हो ।
जंगी अड्डास्थित खेल मैदानमा आयोजित समुद्घाटन समारोहमा प्रधान सेनापति ट्रफीमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपासका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका थिए।
समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, पूर्व प्रधान सेनापतिहरू, सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीको उपस्थिति थियो।
२०८१ असोज १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment