नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च बिन्दुमा

डिसी नेपाल
१२ असोज २०८१ १०:४५
84
Shares

चितवन। लगातरको मुसलधारे वर्षाका कारण आज नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको हो।

जल मापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो पटक हो। यसअघि असार असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो। नदीमा यति धेरै पानी बगेको अहिलेसम्मै थाहा नपाएको स्थानीय अनुभव सुनाउँछन्।

नारायणगढ बजारका पुराना बासिन्दा के एल भुषणका अनुसार २०१८ सालमा यस्तै प्रकृतिको बाढी आएको थियो। ठ्याक्कै भन्न नसकिएपनि यति धेरै पानीको बहाब नारायणीमा नबगेको उनले सुनाए।

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ। मापन अनुसार सात मिटर ३० सेन्टिमिटर पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रुपमा लिने गरिन्छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको र जिल्लास्थित विपद व्यवस्थापन टीम तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।

लगातार परेको पानीले चितवनको अधिकांश क्षेत्रहरू जलमग्न बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *