व्यापारीको गुनासोः सोचे जस्तो छैन व्यापार

डिसी नेपाल
२० असोज २०८१ २०:४८
52
Shares

काठमाडौं। “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन्। तर ग्राहकको संख्या भने पातलो छ।

दसैं र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ। उनी भन्छन्, “दुई-चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ।”

पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ। यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ।

दसैंमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ। चिसो मौसम सुरु भएकाले दसैंमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन। “आफ्नो भन्दा छोराछोरीलाई दसैंमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उनले भनिन्।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताए। बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए।

“काठमाडौंमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैं मनाउने सोचमा छौं”, उनले भने, “किनमेल पनि भर्खरै सुुरु हुँदैछ।” उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए। पर्वमा भारी छुट पाउने हुँदा उहाँलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैंमा किनमेलमा खासै जोड नदिएको बताइन्। ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन्।

गाँउ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालीको दसैं मनाउने जाँगर चलेको छैन। दसैं पनि काठमाडौंमै मनाउने योजना रहेको सुनाइन्। “आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?”, उनले भनिन्।

भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए। कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ। “मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन”, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *