कविता : टोलाएको मन

राज्यलक्ष्मी खतिवडा
१ मंसिर २०८१ ६:५६
40
Shares

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ

मन मेरो उडाइ दिन्छ धिन्ताङ मादलुले
डाँडा काँडा छेक िदिन्छ पापी बादलुले

किन नाच्छ्यौ रानी चरी प्वाँख खोली  खोली
कुहिरो जस्तो जीवन हाम्रो उडी जान्छ भोलि

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ

कर्कलाको पात माथि अड्ने पानी जस्तो
जिन्दगी यो रैछ हाम्रो घाम छाँया जस्तो

कति दिन गाउनु मैले उराठ लाग्ने गीत
आउन चरी हुर्र उडाइ लैजाउ तिमी सित

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ

संसार यो अध्यारो छ मनमा पीर हुनाले
दिल मेरो ओइलिसक्यो दिन रात रुनाले

शून्यतामा हराएको तारा जून जस्तो
मुटुको यो धुक धुकी नै चुँडी लगे जस्तो

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ

कसले मन पराउँछ र विना रसको फूल
किन चुस्छ्यौ रस भमरा यही छ तिम्रो भुल

रस चुसी जीवन मेरो पारी दियौ खोक्रो
कहाँ गै बिसाउ मैले यो दुःखको धोक्रो

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ

जता टेक्यो उतै तिर धस्की दिन्छ पहिरो
अन्धकारमा रुमलिँदै मन भयो बैहिरो

हाँसु भन्दा भन्दै पनि गिरि दिन्छ आँसु
सम्झिँदैन पापी मन कसो गरि हाँसु

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ

नारीलाई बाटो छेक्छ पुर्खाको धर्मले
नाँच्ने गाउँने मनमा थियो दिएन कर्मले

वारि पारि डडेलोले खाइ दियो वन
कहिले शान्त हुँदैन यो विरहीको मन

किन, किन मन मेरो टोलाए झैं लाग्छ
कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ।

सुन्दरहरैंचा-६,दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *