राज्माखेतीमा ढुसीको संक्रमण

डिसी नेपाल
३० कार्तिक २०८१ २१:४८
12
Shares

नारायणगढ (चितवन)। जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको संक्रमण देखिएको छ। खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ।

पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार किसानले बीउ रोपेको १५ देखि २० दिनमा राज्माको बोटमा ढुसीको संक्रमण देखिएको हो। उनले भने, ‘किसानहरू राज्मामा रोग लाग्यो भनेर पालिका आउनुभएको छ। हामीले खेतबाट नमूना ल्याई ल्याबमा कल्चर गरी अध्ययन गर्दा राज्मामा ढुसी देखिएको पाइयो।’ हाल देखिएको ढुसीको समयमा उपचार गरेमा उत्पादनमा कुनै असुर नगर्ने न्यौपानेले बताए। उनले विज्ञको परामर्श लिएर उपचार गर्न किसानलाई सुझाव दिइएको बताए।

अधिकृत न्यौपानेले ढुसीको संक्रमण मुख्यतः संक्रमित बीउ, माटो र हावापानीका कारणले हुने बताए। खेती लगाउँदा राम्रोसँग बीउको उपचार गरेर मात्र लगाउन उनको आग्रह छ। हाल ढुसी पहिचान भएको बालीमा सरसफाइ गरी बेलुका वा शीतल समयमा ‘ट्राइकोड्रमा’ वा ‘स्युडोमोनस’ जैविक विषादी ५–१० ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्ने र यदि रासायनिक विषादी प्रयोग गर्ने भएमा ‘कार्वेडाजिम’ ५० प्रतिशत ‘डब्लुपी’ विषादी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्न सकिने उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *