राष्ट्रनिर्मातालाई खुलेर सम्मान गरौं

खगेन्द्रराज सिटौला
५ पुष २०८१ ७:३८
120
Shares

नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपालका राजनीति दलहरु तथा नेताहरु किन उपेक्षा गरिरहेका छन् बुझिनसक्नु रहस्य भएको छ। पृथ्वीनारायण शाहलाई सम्मान गर्न पर्ने धेरै आधारहरु छन्।

पहिलो उनले पुनविभाजित भएको नेपाललार्ई पुनएकीकरण गरेर एकीकृत बलियो नेपाल राष्ट्रको आधार खडा गरेर उनले आफूलाई राष्ट्रनिर्माताको बलियो सम्मानित र गौरवशाली आसनमा उभ्याउन सफल भए। राष्ट्रनिर्मातालाई सम्मान नगर्नु पर्ने कुनै आधार र कारणहरु छन्? अवश्य छैनन्। दूराग्रह बोक्ने र ज्यालामा विदेशीको रणनीति खोक्नेहरुको उपचार छैन।

दोस्रो अहिलेका गनपति(बन्दुक,हतियारपति) धनपति र जनपति कहलिएका अमेरिका,चीन भारत समेतलाई पुरै वा आंशिक अधिपत्यमा राख्ने त्यसबेलाको कहिल्यै घाम नअस्ताउने शासनको उपमा बनाएको शक्ति राष्ट्र बेलायतलाई पराजित गरेर नेपालको मात्र होइन एसियाकै गौरवशाली इतिहासको अध्याय बनाउने पृथ्वीनारायण शाह नेपालका किन परमआदरणीय गौरवशाली बडानेताको स्थानमा सम्मानित भइरहन सक्तैनन्?

अवश्य सक्छन्, पढ्न, बुझ्न र विश्लेषण गर्न मात्र जान्नु पर्दछ। यो मात्र होइन मिरकासिमको आक्रमणकारी मुसलमान फौजलाई समेत पराजित गरेर नेपालको गौरवशाली विजयको ध्वजालाई उच्च बनाउने पृथ्वीनारायण शाहलाई उच्च सम्मन नगर्नु पर्ने कुनै कारण छैन। अपमान गर्नु राष्ट्रिय लज्जाको विषय हो।

तेस्रो नेपालका बौद्धिक तथा आध्यात्मिक निधिहरु वेदव्यास, जनक, बुद्ध आदिलाई नेपालको भौगोलिक सीमामा बाँधेर नेपालको प्राचीन गौरवलाई नेपालको इतिहाससँग जोडे पृथ्वीनारायण शाहले।

पूर्वीय आध्यात्मिकधार तथा मौलिक रैथाने आध्यत्मिकधारको शक्ति बुझेका पृथ्वीनारायणले यो शक्तिको मूल केन्द्र बचाइरहन एकीकरण अभियानमा ज्यूज्यान हत्केलामा राखेर ठूलो गारखाली याने नेपाली शक्तिलाई उर्जा भर्ने र परिचालन गर्ने काम गरे। आध्यात्मिक आँखाले हेर्दा पनि नेपालका राष्ट्रिय नायक हुन् पृथ्वीनारायण शाह। राष्ट्रिय सम्मानका जरुर हकदार हुन् पृथ्वीनारायण शाह।

हिजोका विशाल नेपालका निर्माताहरु किरात राजा यलम्बर,लिच्छवी राजा अंशुवर्मा, मानदेव, मल्लराजा यक्ष मल्ल, खशराजा बलि, सेनराजा मणि मुकुन्द सेन आदिहरुको विरासत भएर उभिए पृथ्वीनारायण शाह। र उनले नेपालको पुरानो इतिहासलाई जोगाए र नयाँ इतिहासको निर्माण गरे।

जसले नेपालको प्राचीन इतिहासको जगेर्ना गर्‍यो जोगायो र नयाँ इतिहाससँग जोडेर नेपालको इतिहासलाई प्राचीन बनायो के यो पृथ्वीनारायणको अपराध थियो? उनको सम्मानमा खडा गरेका सालिक ढाल्ने र उनको सम्मानमा राष्ट्रले दिएको सानो सम्मान उनी जन्मेको दिन पुष २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश फाल्ने कृतघ्नहरुसँग के जवाफ छ? जनताको व्यापक दबाबले गिरिजा सरकारको पालामा पुस २७ पृथ्वी जयन्तीको कटौती गरेको बिदा भने प्रचण्ड सरकारको पालामा पुन कायम भएको थियो।

चौथो अरुको धर्म संस्कृति माथि असहिष्णु भएर आएका बाह्य हमलाकारीलाई परास्त गरेर नेपाल पूर्वीय आध्यात्मिक केन्द्रको पवित्र स्थल पृथ्वीनारायण शाहकै कारणले जीवित भइरहन सकेको थियो।

पूर्वीय आध्यात्मिकधार तथा मौलिक रैथाने आध्यत्मिकधारको शक्ति बुझेका पृथ्वीनारायणले यो शक्तिको मूल केन्द्र बचाइरहन एकीकरण अभियानमा ज्यूज्यान हत्केलामा राखेर ठूलो गारखाली याने नेपाली शक्तिलाई उर्जा भर्ने र परिचालन गर्ने काम गरे। आध्यात्मिक आँखाले हेर्दा पनि नेपालका राष्ट्रिय नायक हुन् पृथ्वीनारायण शाह। राष्ट्रिय सम्मानका जरुर हकदार हुन् पृथ्वीनारायण शाह।

पाचौं विश्वमा अग्लो हिमाल, भनेर सगरमाथा वा माउन्टेन् एभेष्टका गौरवगाथाका धेरै कविता रचे कविहरुले, गाए गायकहरुले। सगरमाथाको भूगोल र गौरव नेपालीलाई कसैले दिएको हो भने पृथ्वीनारायण शाहले अघि बढाएको नेपाल एकीकरण अभियानले नै दिएको हो।

प्रकृति र संस्कृतिको विविधतायुक्त सुन्दर, शान्त विशाल नेपालरुपी फूलबारी भनेर जो नेपाली गर्व गरिरहेका छौं यो गर्वलाई इमान्दारीपूर्वक पृथ्वीनारायण शाहलाई समर्पण नगर्नु पर्ने कारण छ केही? इतिहासका गौरवमाथि प्रहार गर्ने नालायक कृतध्नहरु कसले जन्मायो नेपालमा? यो नेपाली संस्कृति र परम्परा हुँदै होइन।

पूर्खाहरुको श्रद्धाले श्राद्ध गर्ने पूर्वीय आध्यात्मिक चिन्तनधारबाट शिक्षित र दिक्षित धार होइन र नेपालको मूलधार? यी कृतध्नहरुको जत्था कसले खडा गर्‍यो नेपालमा? यो राष्ट्रिय चिन्ताको विषय हो। पृथ्वीनारायण माथिको प्रहार समग्र नेपालको गौरव, संस्कृति र एकतामाथिको प्रहार हो।

छैटौं गोखौली वीर भनेर नेपाली सौर्यले अन्तर्राष्ट्रिय जगतमा जुन ख्याती र प्रतिष्ठा बनाएको छ त्यो पनि पृथ्वीनारायणकै कुशल र साहसी नेतृत्वको कारणले नै हो। साहसी र वीरहरुको संसारभर पूजा वा सम्मान हुने गर्दछ। नेपालको सेनालाई संगठित तथा आधुनिक बनाउने श्रेय पनि पृथ्वीनारायणलाई जान्छ।

छापामार युद्ध कला अथवा शैलीलाई पृथ्वीनारायण शाहले प्रयोग गरे स्थापित र विकसित गरे। साहस, बहादुरी सैनिक तथा युद्ध विज्ञानको आँखाले हेर्दा पनि पृथ्वीनारायण शाह सम्मनित नहुनु पर्ने कुनै आधार र कारण देखिँदैन। पृथ्वीनारायण शाह एकैपल्ट राजा, कमाण्डर र युद्ध मैदानमा भिडिरहेका सिपाहीको भूमिका निभाउने नेता हुन्। यस्तो संयुक्त भूमिका निभाउने व्याक्तित्व संसारमा विरलै पाइन्छ।

सातौं माथि बल अथवा सौयैको हिसाबले पनि नेपालको सम्मान पाउने आधार पृथ्वीनारायणले बनाएको तर्क र तथ्य उल्लेख गरियो। यहाँ बलमा मात्र होइन बुद्धिमा पनि पृथ्वीनारायण शाहले नेपाल र नेपालीले उच्च सम्मान पाउने आधार खडा गरेका छन्।

पृथ्वीनारायणले राज्यव्यवस्था, शासनव्यवस्था वा समाजव्यवस्था सञ्चालन तथा अर्थव्यवस्था र उत्पादनसँग जोडिएका सबै पक्ष सम्वोधित हुने नेपालको लागि मात्र होइन विश्वकोलागि नै कालजयी हुने सरल भाषामा शक्तिशाली पृथ्वीविचार दिएका छन्। यसरी बौद्धिक अथवा विचारको हिसाबले हेर्दा पनि पृथ्वीनारायण शाहलाई राज्यले सबैभन्दा उच्च सम्मान नदिनु पर्ने कुनै आधार र कारण देखिँदैन।

नेपालका आफूलाई ठूला, पुराना तथा प्रमुख लोकतान्त्रिक बताउने राजनीति दल खाशगरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पृथ्वीनारायण शाहलाई सम्झदैनन्, सम्मान गर्दैनन् बरु प्रहार र उपेक्षा गर्दछन्।

नेपालका राजनीति दलहरुले या त पृथ्वीनारायण शाहलाई बुझेका छैनन् या त बुझ पचाएका छन्। जसले पृथ्वीनारायण शाहलाई बुझ्न सक्तैन त्यसले नेपाल र नेपाली मात्र होइन कि आफैंलाई ने नबुझेको ठहर्छ। यो नेपालका राजनीति दलहरुमा पनि लागू हुन्छ। पुराना दल मात्रै होइन कि नयाँ दल र स्वतन्त्र लगायत सबै जनप्रतिनिधि समेत उही ड्याङका मुला देखिएका छन्।

नेपाली कांग्रेसले वीपीलाई मात्र सम्झन्छ। मानो नेपालीहरुले सम्झने र सम्मान गर्नु पर्ने वीपी मात्रै हुन नेपाल निर्माणमा अरु कसैको केही योगदान नै छैन। नेपाली कांग्रेसले वीपी जन्मेको दिन, दिवंगत भएको दिन र मेलमिलाप दिवशको रुपमा गरेर वर्षमा औपचारिक रुपमा नै वर्षमा तीन पटक सम्झन्छ। तर पृथ्वीनारायण शाहलाई कुनै हिसाबले पनि सम्झदैन र सम्मान गर्दैन।

बरु पृथ्वीनारायणको सालिक ढाल्ने प्रचण्डपथमा कांग्रेसी रथ कुदाउँदै गिरिजाप्रसाद नेतृत्वको सरकारले पुष २७ गतेको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यले दिएको विदा समेत काटेर राष्ट्रनिर्माता माथि प्रहार गरेर आफ्नो असलीरुप देखाएको थियो। योगदानको हिसाबले पनि विचारको हिसाबले पनि पृथ्वीनारायण शाह वीपी भन्दा धेरै माथि छन्। नेपाली कांग्रेसलाई यो अकाट्य तथ्य बुझ्न अरु कति वर्ष लाग्छ होला ?

नेपालका ठूला साना प्राय सबै कम्युनिष्ट घटकहरु माक्र्स, लेनिन, माओ किम आदि विदेशका कम्युनिष्ट नेताहरुको जयन्ती आदि मनाउँछन्। तर आफ्नै राष्ट्रनिर्मातालाई नसम्झने मात्र होइन उपेक्षा र निन्दा गर्नुलाई आफ्नो बहादुरी या क्रान्तिकारीता ठान्दछन्।

मानो नेपाल निर्माणमा पृथ्वीनारायण शाहभन्दा विदेशी कम्युनिष्ट नेताहरुको योगदान बढी छ। कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेतालाई सम्झने कम्युनिष्टहरु राष्ट्र नै स्थापना गर्ने नेतालाई किन सम्झदैनन्? के राष्ट्रभन्दा पनि पार्टी ठूलो हो नेपालका कम्युनिष्टहरुको नजरमा? अपवादमा नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनाली (सीपी मैनाली)ले भने सार्वजनिक रुपमा नै उच्च मूल्यांकन गरेका अभिव्यक्ति दोहरिएका छन्।

नेपालका केही कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुमा राष्ट्रनिर्माताको योगदान र विचारप्रति सकारात्मक मूल्यांकन गर्ने धार र प्रवृति बलियो बन्दै गएको देखिन्छ। यसै सन्दर्भमा कम्युनिष्ट नेतृको हैसियत समेत बनाइसकेकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भने केही वर्ष अघि प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको पुष २७ गते पृथ्वीजयन्तीको दिनमा सिंहदरबार अगाडीको पृथ्वीनारायण शाहको सालिकमा गएर माल्यार्पण गर्दै आइरहेकी थिइन्।

नेपालको इतिहासमा राष्ट्रध्यक्षको हैसियतले पृथ्वीनारायण शाहप्रति देखाइएको सबभन्दा उच्च सम्मान हो। यसको सकारात्मक मूल्यांकन गर्नु पर्दछ।

हिजो उनको मुकुट ओढ्ने उत्तराधिकारीले समेत पृथ्वीनारायण प्रति यो तहको सम्मान दिनुपर्ने आवश्यकता देखेका थिएनन्। तर मुकुट तोढ्ने कित्ताको भए पनि राष्ट्रपति विद्या भण्डारीले राष्ट्रनिर्माता प्रति गरेको सम्मानले स्वयं उनको पनि सम्मान बढाउने काम भएको छ।

त्यस्तै प्रधानमन्त्री केपी वलीले पनि प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रमुख अतिथ्यता ग्रहण गरेर पृथ्वीनारायण प्रति सकारात्मक अधिव्यक्ति दिएर एउटा सन्देश भने दिएका थिए। त्यो सन्देश भनेको राष्ट्रनिर्मातालाई सम्मान गरौं भन्ने नै हो। तर यतिले पुगेको छैन सरकारले धेरै गर्नुपर्छ राष्ट्रनिर्माताको सम्मानमा।

हिजो पृथ्वीनारायण शाहले आर्जेको मुलुकका मुकुटधारी भएका राजाहरु त्रिभुवन,महेन्द्र,वीरेन्द्र तथा ज्ञानेन्द्र कसैमा पनि नेपालको नोटमा मेरो होइन राष्ट्रनिर्माताको तस्वीर राखौं भनेर राष्ट्रनिर्माताको सम्मान गर्ने सोच र चेत आएको देखिएन।

राष्ट्रलाई व्यवस्थासँग जोडेर नहेर्ने हो भने हिजो राजामा नआएको सोच र चेत यो गणतन्त्रमा पलाउनु पर्दछ। पृथ्वीनारायणले गर्दा मात्र सगरमाथा हाम्रो भनेर नोटमा राख्न पाएको होइनर? बुझ पृथ्वीनारायणको उचाई सगरमाथा भन्दा धेरै माथिको हो।

नेपालका नोटमा राष्ट्रनिर्माताको तस्वीर राख्दा नोटको गरिमा त बढ्छ नै नेपाल पनि नोट मार्फत शक्तिकोसाथ प्रस्तुत भएको हुनेछ। यो पनि त्यतिकै साँचो हो हामिले गौरव गर्ने संसारकै हिम शिखर सगरमाथालाई चुल्याउन अथवा ठड्याउन हामी कोही नेपालीले पनि ढुंगा माटो ओसारेको होइन।

तर प्रकृतिले नै संसारको शिखर बनाइदिएको सगरमाथालाई नेपालको भौगोलिक तथा राजनीति सीमा भित्र बाँध्न भने पृथ्वीनारयण शाहको नेतृत्वमा भएको नेपाल एकिकरण अभियानले भने धेरै रगत पसिना बगाएको छ। राष्ट्रिय हिरोलाई नोटमा राखेर सम्मान गर्न के को आपत्ति छ?

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राज्यले धेरै तरिकाले सम्मान गर्न सक्छ। नेपालका नव निर्वाचित हरेक राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीले सपथ खाएपछि राष्ट्रनिर्माताको सालिकमा माल्यर्पण गरेर मात्र पद बहाली गर्ने परम्परा बसाल्न सक्छन्।

हिजो उनको मुकुट ओढ्ने उत्तराधिकारीले पनि यसो गर्न सक्थे। तर उनीहरुले गरेनन्। राष्ट्रनिर्मातालाई सम्मान गरेर सिंहासनमा विराजमान हुँदा आफ्नो सम्मान स्वत बढ्छ भन्ने उनीहरुले बुझेनन् भनेर मुकुट तोड्नेहरुले पनि त्यही गलत नजीर पछ्याइरहने हो र ? सच्याउनु पो पर्दछ त।

मित्रराष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुख नेपालको राजकीय वा औपचारिक भ्रमणमा आउदा ति सम्मानित विदेशी पाहुनाहरुलाई नेपालका राष्ट्रनिर्माताको सालिकमा माल्यार्पण गराउने औपचारिक निर्णय सरकारले गर्नुपर्दछ। यसो गरेमा एकैपल्ट सबै नेपाली, नेपाल र नेपाली इतिहासको सम्मान भएको मानिने छ।

नेपालका हरेक नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्ने परम्परा जस्तै बनाएका छन्। भारतमा गएर उनीहरु भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधीस्थलमा गएर फूलमाला अर्पण गर्छन। त्यो ठिकै छ कुटनीति हिसाबले पनि।

तर नेपालका राष्ट्रनिर्मातालाई सम्मान नगरी छिमेकी भारतका राष्ट्रपितालाई सम्मान गर्दा नेपाल,नेपाली, नेपालको गौरवशाली इतिहास र बहादुर स्वाभिमानी पुर्खाहरुको अपमान भएको ठहर्दैन र? भारतमा अंग्रेज खेद्ने अगुवाले सम्मान पाउने नेपालमा त झन अंग्रेजलाई टेक्नै नदिने नायकले अपमानित हुनुपर्ने मिल्छ?

पृथ्वीनारयण शाह नेपाल र नेपालका सबै परिवर्तन, वलिदान र शहीदहरुका प्रतिनिधि नायक हन्। उनको सम्मानले एकैपल्ट सबैको स्वत सम्मान भएको मानिन्छ। इतिहास र योगदानको सम्मानले मात्रै राष्ट्र दिगो र सम्मानित हुन्छ सबैलाई चेतना भया।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *