देउवाले पार्टीलाई आफ्नो अनुकुल ढंगले अघि बढाएको भन्दै शेखरको विरोध

डिसी नेपाल
८ पुष २०८१ १९:०३

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीको विरोध गरेका छन्।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित किसुनजीको जीवन र व्यक्तित्व विषयक विचार गोष्ठीमा कोइरालाले पार्टीलाई आफ्नो अनुकुल ढंगले अघि बढाएको भन्दै पार्टी सभापति देउवाको कार्यशैलीको विरोध गरेका हुन्।

उनले आफ्ना कुराहरुलाई पार्टी सभापतिले गम्भीरतापूर्वक नलिएका कारण समय समयमा पार्टीभित्र भागबण्डाको कुरा उठ्ने गरेको जिकिर गरे। पार्टी सभापतिले अन्य नेताहरुको कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अप्ठेरो पर्ने उनको भनाइ छ।

कोइरालाले गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोप समेत लगाए। उनले विभिन्न कारणले अहिले पार्टीभित्र विचलन देखिएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

कृष्णप्रसाद भट्टराईको दृढ संकल्प गर्ने बानी आफुले सदैव स्मरण गर्ने उनले बताए। कोइरालाले कृष्णप्रसाद भट्टराई, गणेशमान, वीपी लगायतका कांग्रेसका अग्रज नेताहरुलाई बिर्सिए कांग्रेस नै नरहने धारणा राखे।

सन्त नेता भट्टराईको जन्म विक्रम सम्वत् १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो। उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो। नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरंकुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *