नेपालमा होटल तथा रेस्टुराँको संख्या कति?
काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ। त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५८ र सुदूरपश्चिममा आठ हजार दुई सय २८ छ।
अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ। यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या हो।
यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको सङ्ख्या एक लाख छ हजार चार सय ५९ छ। होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब दुई खर्व १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब एक खर्व नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ।
ध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ।
यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव चार प्रतिशतले वित्तिय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव छ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैर तारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो।
होटलमा रहेको कोठाको सङ्ख्या एक लाख १६ हजार एक सय रहेको छ। जसमध्ये स्टार होटलमा आठ हजार चार सय ९६ कोठा, गैर तारे होटल तथा लजमा एक लाख ७५, रिसोर्टमा तीन हजार आठ सय २९ र होमस्टेमा तीन हजार सात सय कोठा रहेको यो अध्ययनले देखाएको छ।
हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार आठ स्य ५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment