कोठामा थुनिएका बालकसहित चार बालबालिकाको उद्धार

डिसी नेपाल
२१ पुष २०८१ २३:२१
772
Shares

खोटाङ । माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य यहाँका ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ।

छ वर्षदेखि आफ्नै घरको कोठामा थुनेर राखिएको एँेसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई उक्त संस्थाले आज उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए। ‘उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ’, उनले भने, ‘जिल्लाका सहाराविहीन बालबालिकालाई खोजी गरी उद्धार गर्ने अभियानमा जुटेका छौं।’

बुबाआमाले घरको कोठामा थुनेर राखेको ठाउँबाट उद्धार गरिएका बालक अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ। बुबाआमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी कोठामा थुनेर राख्ने गरिएको उद्धारमा सहभागीले बताएका छन्।

उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको बुबा नभएको तथा आमाले अर्कै विवाह गरेको पाइएको छ। सहाराविहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादीक्षाका लागि व्यवस्था गर्न नसकेपछि माया घर नेपाललाई जिम्मा दिइएको सो वडाका वडाअध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिए।

त्यसैगरी उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेको पाइएको छ। बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थाबाट उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए।

बुइपाकै रुविनको बुबा अपाङ्ग र आमासमेत असक्त रहेकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको जनाइएको छ।

उद्धार गरिएका चारैजना बालबालिकालाई ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आजै इटहरी पठाइएको हो। जिल्लाबाट यसअघि मात्र चारजना सडक आश्रित मानव तथा दुईजना सहाराविहीन बालबालिकाको उद्धार गरिएको थियो। जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरेका उनीहरुलाई मानव सेवा आश्रम विराटनगर पठाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *