सहकारी ठगीमा अध्यक्ष र सञ्चालक फरार हुँदा श्रीमती पक्राउ

डिसी नेपाल
२३ पुष २०८१ १४:३८
676
Shares

विराटनगर । बराह ग्रुप अफ कम्पनीका सञ्चालकले खोलेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिडेटका अध्यक्ष मानबहादुर विश्वकर्मा र सञ्चालक गंगाबहादुर कालिकोटे फरार भएपछि प्रहरीले उनीहरूका श्रीमतीलाई हिरासतमा लिएको छ।

बचतकर्ताले आफूहरूको रकम अपचलनको उजुरी दिएपछि उनीहरूको खोजीकार्य गरिरहेकोमा फरार भएपछि गत १३ पुसमा मानबहादुरकी श्रीमती जतनमाया र कालिकोटेकी श्रीमती सरितालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दुवै महिलाको संलग्नता नदेखिए पनि श्रीमान् फरार भएपछि उनीहरूलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेपछि महिलाहरूको तर्फबाट धरान उपमहानगरपालिका–१७ का पवन विश्वकर्माले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। १६ पुसमा परेको उक्त रिटको १९ पुसमा सुनुवाइ गर्दै न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र कृपासुर कार्कीको संयुक्त इजलासले रिट खारेज गरेको थियो।

सहकारीबाट ठगिएको भन्दै ६ सय ५४ पीडितले उनीहरूविरुद्ध ६२ वटा जाहेरी दर्ता गराएका छन्। जाहेरीमा एक अर्ब १८ करोड ३६ लाख एक सय १० रुपैयाँबराबरको बिगो दाबी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *