मुलुकको चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब

डिसी नेपाल
२६ पुष २०८१ १८:५८
96
Shares

काठमाडौं। मुलुकको चालु खाता बचतमा रहेको छभने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ।

समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा रहेको थियो। यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु दुई अर्ब ८७ करोड थियो।

यसैगरी, गत मङ्सिर मसान्तसम्ममा रु छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक (इक्विटीमात्र) लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु तीन अर्ब ९३ करोड रहेको थियो। चालु आवको पाँच महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा थियो।

गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ११ दशमलव चार प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा रु २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा समीक्षा अवधिमा नौ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड डलर पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छभने राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ४० अर्ब कायम भएको छ। गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव आठ प्रतिशत रहेको छ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। यसैगरी विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ। पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *