‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक’
देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज घोराहीमा भएको अन्तरसंवाद कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताए।
महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताए। इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उनले कार्यकर्ताको माध्यमबाट ध्रुवीकरण गर्न एमालेको तयारी रहेको बताए।
एक अर्को प्रशंगमा महासचिव पोखरेलले ‘बिआरआई सम्झौता’ बाट नेपालले नयाँ मान्यता स्थापित गरेको दाबी गरे। ‘बिआरआई सम्झौताको मस्यौदा नेपाली कांग्रेस र एमालेको सहमतिमा गरिएको हो। नेपालको इतिहासमै पहिलोपटक नेपाल आँफैले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ’, उनले भने, ‘यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदोरहेछ भन्ने प्रमाणित भएको छ। मुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment