भोटेकोशी बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित ठूलोगाउँमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को पहलमा निर्माण गरिएका अस्थायी आवासको साँचो बाढीपीडित परिवारलाई हस्तान्तरण गर्दै उनले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुनर्निर्माणका कार्यलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका हुन्।
‘बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाई पुनर्निर्माणमा लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसका लागि प्रभावित नागरिकको अस्थायी आवास र जीविकोपार्जनसँगै रोजगारी तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन विशेष ध्यान दिनुपर्छ।’
जिफन्टले निर्माण गरेका १८ वटा अस्थायी आवास रसुवामा भोटेकोशी बाढीबाट प्रभावित भई सुरक्षित बसोबासको खोजीमा नुवाकोट आएका परिवारलाई हस्तान्तरण गरिएको हो।
सुरक्षित आवासको अभावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी ती आवास निर्माण गरिएको जिफन्टले जनाएको छ। एमाले नुवाकोटका जिल्ला सचिव शिवकुमार चित्रकारका अनुसार स्थानीयको जग्गा भाडामा लिएर जिफन्टको आर्थिक सहयोग र श्रमदानमार्फत उक्त अस्थायी आवास निर्माण गरिएको हो।
यसअघि भोटेकोशी बाढी आएलगत्तै प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने र राहत वितरणलगायतका मानवीय सहायता कार्यमा समेत जिफन्टले सक्रिय सहयोग पुर्याएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment