उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना
भद्रपुर (झापा)। यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइएको बताए। उनले भने, ‘बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिएका छौँ। म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा चाडबाडको मौका छोपी अस्वाभाविक मूल्य लिने व्यवसायीलाई कारबाही गर्छौं। उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि व्यवसायी तथा सरोकारवाला सबै जिम्मेवार हुन आवश्यक छ।’
प्रजिअ पोखरेलका अनुसार, उक्त अवधिमा जिल्लाका १३४ फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा रु दुई लाख ४० हजार ४४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ भने एक व्यवसायीलाई सचेत गराइएको छ।
म्याद गुज्रिएको गाईको दाना बिक्री वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही रु दुई लाख जरिवाना गरिएको छ।
त्यसैगरी, अखाद्य अमिलो पदार्थ बिक्री वितरण गर्ने श्रीराम अमिलो भण्डार र आवश्यक इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही रु ५० हजार तथा ओमशान्ति मिष्ठान्न भण्डारलाई रु १५ हजार जरिवाना गरिएको छ। दमक–१ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि आकस्मिक बजार निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिने जनाएको छ। कार्यालयले बजारलाई उपभोक्तामैत्री बनाउन व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सरोकारवालासँग सहकार्यका लागि आग्रहसमेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment